विश्व रेबीज दिवसमा न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपको सडक कुकुरलाई निःशुल्क रेबीज खोप

कोहलपुर, असोज १२,

विश्व रेबीज दिवस (सेप्टेम्बर २८) को अवसरमा आज बिहान न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपले कोहलपुर नगरपालिकाको पशु सेवा शाखासँग सहकार्य गर्दै सडक कुकुरमा रेबीज खोप कार्यक्रम सम्पन्न गरेको छ ।

यस अभियान अन्तर्गत ५० भन्दा बढी सडक कुकुरलाई निःशुल्क खोप लगाएको छ । कार्यक्रममा पशु सेवा शाखाका प्रतिनिधि गोविन्द रोकायाले खोपको महत्वबारे जानकारी दिएका थिए । उनले भने,–‘रेबीज एक घातक रोग हो तर यसलाई खोपमार्फत पूर्णरूपमा नियन्त्रण गर्न सकिन्छ । हामीले आज गरेको यो पहलले समुदायलाई सुरक्षित बनाउन मद्दत गर्नेछ । सबैलाई आफ्ना पाल्तु कुकुर र बिरालालाई नियमित खोप लगाउन आग्रह गर्दछु ।’

न्यु लाईफ भेट क्लिनिक एण्ड पेट सपका सञ्चालक डा. मनोज कार्कीले सडक कुकुरलाई खोप लगाउने कामसामाजिक जिम्मेवारी भएको बताए । उनले सानो प्रयासले कोहलपुरलाई रेबीजमुक्त बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास व्यक्त गरे । डा. कार्कीले यो कार्यक्रमले कोहलपुर क्षेत्रका कुकुर तथा स्थानीय समुदायलाई रेबीज संक्रमणको जोखिमबाट जोगाउने लक्ष्य लिएको आयोजकहरूले बताएका छन् ।

कार्यक्रममा तिलक आचार्य, प्रकाश न्यौपाने, लोकेन्द्र बुढाथोकी, मिनबहादुर बिक, आकाश काफ्ले, कोहलपुर नगरपालिकाबाट कमल बुढा, बास्कडी बर्दियाका सुशान्त सापकोटा, करिना चलाउने, ईसा सुनार लगायतको सहभागिता रहेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !