कोहलपुर साना किसान कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न

कोहलपुर, कात्तिक २९,

कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जानकी पुनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ प्रमुख अतिथी रहेकी थिईन् । कार्यक्रममा बोल्दै नमुनाले संस्थालाई अबका दिनमा अझ प्रगतिशील बनाउने शुभकामना व्यक्त गर्दै यस सहकारी संस्थाको प्रगति र पारदर्शिताको उच्च सराहना गरेकी छन् । उनले पछिल्लो समय देशभरका धेरै सहकारीहरू आर्थिक समस्या र भ्रष्टाचारको कारण डुब्दै गरेको अवस्थामा कोहलपुर साना किसान कृषि सहकारी संस्थाले सदस्यहरूको हित र संस्थाको विकासमा इमान्दारीपूर्वक काम गर्दै आएको बताईन् । यस्तो प्रगतिशील उदाहरणले अन्य सहकारीहरूका लागि पनि प्रेरणा दिने बताईन् ।

संस्थाले विगतमा गरेका आर्थिक, सामाजिक र सामुदायिक विकासका गतिविधिहरू साँच्चिकै सराहनीय रहेको बताईन् । सदस्यहरूको आर्थिक सहभागिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सञ्चालन भएको यो सहकारीले, आजको चुनौतीपूर्ण समयमा पनि दिगो विकास र स्थिरता कायम राखेको उल्लेख गरिन् । उनले भनिन्,–‘म यस संस्थाले गरेको कामको प्रशंसा गर्छु र भविष्यमा पनि यसलाई निरन्तर सफलता मिलोस् भन्ने कामना गर्दछु । नमुनाले विशेष रूपमा संस्थाको इमान्दारी, पारदर्शिता र सदस्यमुखी दृष्टिकोणको प्रशंसा गर्दै भनिन्,–‘संस्थालाई विश्वासिलो र दिगो बनाएको छ । म पूर्ण विश्वास व्यक्त गर्छु कि यस सहकारी संस्थाले आगामी दिनमा अझ प्रगतिशील कदमहरू चाल्नेछ र सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिमा योगदान दिनेछ ।’

‘मैले विगतमा यस सहकारी संस्थालाई सकेसम्म सहयोग गरेको छु र आगामी दिनमा पनि सदैव सहयोग गर्दै जानेछु । संस्थाको प्रगति सन्तोषजनक छ र यसलाई अझ अघि बढाउन निरन्तर प्रयत्न हुनु आवश्यक छ ।’ उनले भनिन् । विशिष्ट अतिथिहरूमा लुम्बिनी प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष देवबहादुर ओली, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य प्रेम सुवेदी, संस्थाका पूर्व अध्यक्ष पार्वती घर्ती मगर, लेखा संयोजक पार्वती उपाध्याय लगायतका प्रतिनिधिहरू उपस्थित थिए ।

सभामा संस्थाको आर्थिक वर्ष २०८१/८२ को को प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वित्तीय विवरण, साथै आगामी वर्षका कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । संस्थाले विगत वर्षमा १२१६ घरधुरीलाई आवद्ध गर्दै आर्थिक, सामाजिक र सामुदायिक विकासका गतिविधिहरू संचालन गरेको छ । यस वर्षका मुख्य कार्यक्रमहरूमा सुत्केरी पोषण प्रोत्साहन, १४ जनालाई रु १,००० उपलब्ध गराइएको, शेयर सदस्य क्षमता वृद्धि तालिम, कृषि तालिम (तरकारी खेती, बाख्रा पालन, अचार बनाउने तालिम), स्वास्थ्य शिविर र पाठेघर शिविर, भ्रमण कार्यक्रम, जेष्ठ सदस्यहरूको तिर्थयात्रा, मृगौला पिडित सदस्यलाई आर्थिक सहायता, बाटोमा विरुवा रोपण कार्यक्रम, सदस्य भेटघाट र घरदैलो कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालक समितिले सभामा संस्थाको आर्थिक प्रगति र वित्तीय स्थिरताबारे विस्तृत जानकारी प्रस्तुत गरेको थियो । यस वर्ष संस्थाले कुल ऋण लगानी रु ८ करोड ४२ लाख, कुल असुली रु ८ करोड ५२ लाख, तथा व्याज असुली रु १ करोड ९७ लाख ९३ हजार गरेको छ । निक्षेप संकलन अन्तिममा रु ९,१४,१४,१६,७३ रहेको छ । अध्यक्ष जानकी पुनले सदस्यहरू र सहयोगी निकायहरूप्रति धन्यवाद व्यक्त गर्दै, सहकारी संस्थालाई आगामी दिनमा अझ प्रगतिशील, पारदर्शी र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । सभा सफलतापूर्वक सम्पन्न भएपछि उपस्थित सदस्य, अतिथिहरू र साझेदारहरूले संस्थाको विकास र आगामी योजनामा निरन्तर सहयोग गर्ने आश्वासन व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बालिका शर्माले गरेकी थिईन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर