जेन्जी आन्दोलनपछि महिला नेतृत्वको मनोविज्ञान : संचारिकाको बहस,जेन्जी आन्दोलन र महिला नेतृत्व, युवाको दबाब, नेतृत्वको पुनरपरिभाषा

कोहलपुर, पुष २,

पछिल्लो समय देशभर चर्चामा रहेको ‘जेन्जी आन्दोलन’ ले केवल सडक र सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक नेतृत्वको सोच र व्यवहारमा पनि प्रभाव पार्न थालेको छ । विशेषतः महिला जनप्रतिनिधिहरूको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा देखिएको परिवर्तनलाई केन्द्रमा राख्दै नेपालगन्जमा गहन बहस गरिएको छ । संञ्चारिका समूहको आयोजनामा पुस २ गते नेपालगन्जस्थित सिद्धार्थ कटेजमा आयोजित प्यानल डिसकसन कार्यक्रममा महिला जनप्रतिनिधि, राजनीतिक विश्लेषक, जेन्जी अभियन्ता तथा सञ्चारकर्मीहरू सहभागी थिए । ‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञान’ शीर्षकमा केन्द्रित छलफलले युवा पुस्ता र महिला नेतृत्वबीचको सम्बन्धलाई नयाँ कोणबाट विश्लेषण गरेको छ ।

छलफलमा वक्ताहरूले जेन्जी आन्दोलनलाई असन्तोषको अभिव्यक्ति मात्र नभई राजनीतिक नेतृत्वप्रति जवाफदेहिता र पारदर्शिताको मागका रूपमा व्याख्या गरे । महिला जनप्रतिनिधिहरूका अनुभव अनुसार आन्दोलनले करिब एक महिनासम्म उनीहरूको राजनीतिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको थियो । सो अवधिमा ‘हामी किन राजनीति गर्दैछौं ? र कसका लागि गर्दैछौं ?’ भन्ने प्रश्नले नेतृत्वलाई आत्मचिन्तनतर्फ धकेलेको उनीहरूको साझा अनुभूति थियो ।

आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र आक्रमणका घटनाले महिला जनप्रतिनिधिहरूमा डर र त्रास सिर्जना भएको उनीहरूले बताए । कतिपय अवस्थामा त्यसको असर परिवारसम्म पुगेको, सुरक्षाबारे चिन्ता बढेको र मानसिक दबाब महसुस भएको पनि साझा अनुभवका रूपमा प्रस्तुत गरियो । तर समयसँगै यही चुनौतीले महिला नेतृत्वमा हिम्मत र आत्मबल थपेको उनीहरूको निष्कर्ष थियो । प्रारम्भिक डर र असहजतापछि अहिले आफूहरू अझ सचेत, दृढ र जिम्मेवार बनेको, संकटका बेला पनि नेतृत्व छोड्न नहुने आत्मविश्वास विकास भएको उनीहरूको भनाइ थियो ।

कोहलपुर नगरपालिकाकी उप प्रमुख सङ्गीता सुवेदीका अनुसार जेन्जी आन्दोलनले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई गहिरो रूपमा पुनः परिभाषित गरिदिएको छ । आन्दोलनको प्रभाव करिब एक महिनासम्म प्रत्यक्ष रूपमा राजनीतिक जीवनमा देखिएको उल्लेख गर्दै उनी भन्छिन्, “त्यो समय हामी सबैका लागि आत्ममूल्यांकनको थियो । हामी किन राजनीति गर्दैछौं र कसका लागि गर्दैछौं भन्ने प्रश्नले गम्भीर रूपमा सोच्न बाध्य बनायो ।” उनका अनुसार आन्दोलन शान्तिपूर्ण रहने विश्वासका साथ आफूहरू सुरुदेखि नै संयम र संवादको पक्षमा थिए । “हामी जनताकै सेवामा छौँ भन्ने भावना लिएर आन्दोलनकारीहरूलाई सहजिकरण गरिरहेका थियौँ । नगरप्रमुख र मैले मिलेर आन्दोलन शान्तिपूर्ण बनोस् भन्ने प्रयास गरेका थियौँ,” उनले बताइन् ।

तर आन्दोलनको पछिल्लो दिन परिस्थिति अचानक बदलिएको सुवेदीको भनाइ छ । “हामी त जेन्जी आन्दोलनको समर्थनमै थियौँ, तर अन्तिम चरणमा हामीमाथि नै प्रहार भयो,” भन्दै उनले व्यक्तिगत घर–सम्पत्तिमा आगजनी र तोडफोड गरिएको पीडा सुनाइन् । सार्वजनिक सम्पत्तिमा भएको क्षतिको त चर्चा गर्नै नसकिने अवस्था रहेको उनको भनाइ छ । ती घटनापछि केही समय आफूलाई मानसिक रूपमा सम्हाल्न निकै कठिन भएको उनले स्वीकार गरिन् । आन्दोलनको असर परिवारसम्म पुगेको र राजनीतिमा आफूलाई जोडेर परिवारमाथि समेत प्रश्न उठ्दा निकै दुःख लागेको उनले बताइन् । “हिजोसम्म हरेक परिस्थितिमा साथ दिने सासु र परिवारले पनि अब चुनावमा नउठ्न सुझाउनुभयो,” उनले भनिन् । तर ती कठिन क्षणहरूले आफूलाई कमजोर नभई झनै बलियो बनाएको सुवेदीको निष्कर्ष छ । “म अझै राजनीतिमा सक्रिय रहनेछु । अब आफूलाई अझ सबल बनाउँदै राजनीति मार्फत समाजसेवामा निरन्तर लाग्ने अठोट गरेको छु,” भन्दै उनले जेन्जी आन्दोलनले आफूलाई डराएको होइन, जिम्मेवारीप्रति थप प्रतिबद्ध बनाएको बताइन् ।

कोहलपुर नगरपालिका ११ की वडा अध्यक्ष कल्पना अधिकारी शर्माले महिला जनप्रतिनिधिहरू आलोचनालाई नकारात्मक रूपमा होइन, सुधारको माध्यमका रूपमा लिन सिक्दै गएको बताइन् । उनका अनुसार जेन्जी आन्दोलनले नेतृत्वलाई आफ्नै काम, निर्णय र भूमिकामाथि पुनरावलोकन गर्न प्रेरित गरेको छ, जसले दीर्घकालीन रूपमा उत्तरदायी शासन प्रणालीलाई बल पु¥याउँछ । पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खानले बदलिँदो सामाजिक परिवेशले महिला नेतृहरूको मानसिकता थप सुदृढ बनाएको धारणा राखिन् । उनले नेतृत्वले समयअनुसार आफ्ना प्राथमिकता र कार्यशैली परिमार्जन नगरे जनअपेक्षाबाट टाढा हुने खतरा रहेको उल्लेख गरिन् ।

प्रदेश सभा सदस्य सुशिला बादीले युवाहरूको सक्रिय सहभागिताले नीति निर्माण प्रक्रियामा नयाँ दृष्टिकोण थपिएको बताइन् । उनका अनुसार महिला नेतृत्वले युवासँग सहकार्य गर्दै अघि बढ्दा मात्र समावेशी र व्यवहारिक नीति निर्माण सम्भव हुन्छ । राजनीतिक विश्लेषक अर्जुन पोखरेलले जेन्जी आन्दोलनलाई केवल असन्तोषको अभिव्यक्तिका रूपमा सीमित गरेर हेर्नु त्रुटिपूर्ण हुने बताए । उनका अनुसार यो आन्दोलन लोकतान्त्रिक अभ्यासको स्वाभाविक विकासक्रम हो, जसले नागरिक चेतनाको स्तर कति बढेको छ भन्ने स्पष्ट संकेत गर्दछ । युवाहरूले सडक र सामाजिक सञ्जालमार्फत उठाएका प्रश्नले सत्ता र नेतृत्वलाई जवाफदेही बनाउने दबाब सिर्जना गरेको उनको विश्लेषण थियो ।

पोखरेलले जेन्जी आन्दोलनबाट बनेको अन्तरिम सरकारले हालसम्म के-कस्ता काम गरेको छ भन्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए । उनले भने, “आन्दोलनले सरकार बनाउने मात्र होइन, बनेको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ कि छैन भन्ने प्रश्न उठाउनु पनि लोकतान्त्रिक अधिकार हो ।” जेन्जी आन्दोलनले नेतृत्वलाई निरन्तर परीक्षणको घेरामा राख्ने संस्कार विकास गरिरहेको उनको धारणा थियो । कार्यक्रममा सहभागी सबै वक्ताहरूले एउटा साझा धारणा पनि राखेका थिए । उनीहरूका अनुसार ‘जेन्जी’ भन्ने शब्द चर्चामा आएपछि यसलाई सुन्ने बित्तिकै सबै कुरा स्पष्ट भइसकेको ठान्नु उपयुक्त हुँदैन । जेन्जी आन्दोलनभित्र पनि फरक-फरक सोच, अपेक्षा र धारणा रहेको भन्दै नेतृत्व र समाजले यसलाई सतही रूपमा बुझ्न नहुने उनीहरूको निष्कर्ष थियो ।

वक्ताहरूले जेन्जी आन्दोलनलाई एकरूप धारणा भएको समूहका रूपमा होइन, प्रश्न गर्ने, छलफल माग्ने र जवाफ खोज्ने प्रवृत्तिका रूपमा बुझ्नुपर्नेमा जोड दिए । यस आन्दोलनका नाममा सबै गतिविधि, माग वा व्यवहारलाई एउटै तराजुमा तौल्न नमिल्ने र हरेक सन्दर्भलाई तथ्य र प्रसंगका आधारमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याइयो । कार्यक्रमकी गेस्ट स्पिकर तथा जेन्जी अभियन्ता प्रतिक्षा बस्नेतले जेन्जी आन्दोलनको सुरुवात सामाजिक सञ्जाल बन्द गरिएको विरोधबाट भएको स्पष्ट पारिन् । उनका अनुसार सुरुमा डिजिटल स्वतन्त्रतासँग जोडिएको आन्दोलन क्रमशः फरक-फरक स्वरूपमा विकसित हुँदै सत्ता र सरकार परिवर्तनसम्म पुग्न सफल भयो । “यो आन्दोलन केवल आक्रोशको अभिव्यक्ति होइन, संरचनागत परिवर्तनको माग हो,” भन्ने आशय व्यक्त गर्दै उनले युवाहरूले नयाँ राजनीतिक संरचना र नयाँ प्रणालीको खोजी गरिरहेको बताइन् । बस्नेतले पछिल्लो समयको राजनीतिक अवस्थाले युवापुस्तामा निराशा बढाएको उल्लेख गरिन् । उनका अनुसार पटक–पटक दोहोरिने राजनीतिक अस्थिरता, अपेक्षाअनुसार नतिजा नआउनु र सुशासनप्रतिको विश्वास कमजोर हुँदा युवाहरू आन्दोलनतर्फ आकर्षित भएका हुन् । उनले भनिन्, “युवाहरू राज्य र सरकारसँग टकराव होइन, उत्तरदायी र जवाफदेही प्रणाली चाहिरहेका छन्,” भन्दै महिला नेतृत्वले यस आवाजलाई गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको सहजीकरण कान्तिपुरकी पत्रकार रुपा गहतराजले गरेकी थिइन् । कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका प्रश्नहरू पनि जेन्जी आन्दोलन र महिला नेतृत्वकै विषयमा केन्द्रित थिए । यस अन्तरक्रियाले महिला नेतृत्व र युवापुस्ताबीचको सम्बन्धलाई पुनः परिभाषित गर्ने प्रयास गरेको देखिन्छ । संवाद, सहकार्य र पारदर्शितामार्फत अघि बढ्न सके जेन्जी आन्दोलनले महिला नेतृत्वलाई थप उत्तरदायी र प्रभावकारी बनाउने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको आयोजक संञ्चारिका समूहले जनाएको छ । बहसका बारेमा संचारिका समुह बाँके शाखाकी अध्यक्ष पवित्रा परियारले प्रष्ट पारेकी थिईन । कार्यक्रमको संचालन कोषाध्यक्ष धना केसीले गरेकी थिईन ।

बिधुत्मा रैका,
निर्देशक, पहरा नेपाल

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !