मगर सांस्कृतिक मेलास् चौथो दिनमा नायक पल शाहको धमाकेदार प्रस्तुति, दर्शक उत्साहित

कोहलपुर, बैशाख ३,

मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको चौथो दिन अत्यन्तै भव्य र मनोरञ्जनपूर्ण रूपमा सम्पन्न भएको छ।

चौथो दिनको प्रमुख आकर्षणका रूपमा चर्चित नेपाली अभिनेता पल शाह को विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा उनी मञ्चमा देखिने बित्तिकै दर्शकहरू उत्साहले भरिएका थिए । सयौं दर्शकहरूले उनलाई घेरेर स्वागत गरेका थिए भने कार्यक्रमस्थल नै उत्साह र उमंगले भरिएको देखिन्थ्यो । पल शाहले आफ्नो टोलीसहित प्रस्तुत गरेको संयुक्त प्रस्तुति अत्यन्तै आकर्षक र ऊर्जावान् रह्यो ।

उनका नृत्य, अभिनय शैली र दर्शकसँगको प्रत्यक्ष संवादले कार्यक्रमलाई अझै रोमाञ्चक बनाएको थियो । दर्शकहरू उनको प्रत्येक प्रस्तुतीसँगै नाच्दै, गाउदै रमाइरहेका थिए । धेरै दर्शकहरूले उनीसँग फोटो खिच्न र नजिकबाट भेट्न समेत भीड लागेको दृश्य देखिन्थ्यो । समग्रमा, पल शाहको उपस्थितिले मेलालाई नयाँ उचाइमा पुर्‍याएको अनुभूति गरिएको छ। यसै दिन राष्ट्रिय कलाकारका रूपमा भिमसेन खत्री, चौधरी समुदायकी चर्चित गायिका सोमती चौधरी तथा विभिन्न नृत्याङ्गनाहरूको दमदार प्रस्तुति समेत रहेको थियो । उनीहरूको गीत–संगीत र नृत्यले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो। चौथो दिनको मेला उद्घोषकका रुपमा आर.जे. रास्कोटी मगरले गरेका थिए, जसले आफ्नो शैली र ऊर्जा मार्फत दर्शकहरूलाई निरन्तर जोडिराख्न सफल भएका थिए ।

आयोजकका अनुसार भोली पाँचौं दिन चर्चित लोक तथा दोहोरी गायक बद्री पंगिनी लगायतका अन्य राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ, जसले मेलालाई अझै थप आकर्षक र मनोरञ्जनपूर्ण बनाउने विश्वास लिइएको छ। मेला निरन्तर रूपमा दर्शकहरूको उल्लेख्य सहभागितासहित अघि बढिरहेको छ र मगर समुदायको भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको आयोजकले जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !