कोहलपुर, भदौ २८,
कवि एवम् साहित्यकार विष्णु पन्थी ‘विनु’को कविता सङ्ग्रह ‘जेञ्जीकी आमा’ भव्य कार्यक्रमबीच विमोचन गरिएको छ ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा गैँडाकोटस्थित होटल द नारायणीमा आयोजित ‘जेञ्जीकी आमा लोकार्पण, विमर्श एवम् कविता वाचन’ कार्यक्रममा कृति विमोचन गरिएको हो । कार्यक्रम वरिष्ठ छन्दकवि, महाकाव्यकार तथा गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको अध्यक्षता तथा प्रा।डा। चूडामणि बन्धुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनाल, प्रा.डा. गणेशप्रसाद खराल, लेखककी आमा लगायतले संयुक्त रूपमा ‘जेञ्जीकी आमा’ कविता सङ्ग्रहको विमोचन गरेका थिए । प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन रामप्रसाद अधिकारी र लेखराम सापकोटाले संयुक्त रूपमा गरेका थिए ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक विपिन पाठकले अधिकांश कविताहरू करुण रसले भरिएका रहेको बताए । उनका अनुसार सङ्ग्रहमा केही कवितामा वीर रस र शान्त रसको समेत प्रयोग गरिएको छ । कविताले पाठकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको उनको भनाइ थियो । त्यस्तै, अर्की समीक्षक रञ्जना लामिछानेले नारी र पुरुषबीच समभाव कायम हुनुपर्ने धारणा राख्दै बुहारीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताइन् । उनले कवितामा विम्ब, प्रतीक, रस तथा अलङ्कारको प्रयोगका क्रममा कवि केही ठाउँमा चुकेको हुनसक्ने धारणा पनि व्यक्त गरिन् ।
कार्यक्रममा कवि मुना धनञ्जयले कविता वाचन गरेकी थिइन् । समालोचक उदय अधिकारीले कवि पन्थीको साहित्यिक सिर्जना तथा ‘जेञ्जीकी आमा’ कविता सङ्ग्रह प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै कृतिको सफलताको शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथि प्रा।डा। चूडामणि बन्धुले साहित्यले समाजका अनुभूति, पीडा, भावना र यथार्थलाई अभिव्यक्त गर्ने भएकाले यस्ता कृतिको प्रकाशनले नेपाली साहित्यलाई थप समृद्ध बनाउने बताए । कवि विष्णु पन्थी ‘विनु’को ‘जेञ्जीकी आमा’ कविता सङ्ग्रहमा सामाजिक जीवन, मानवीय संवेदना, नारी–पुरुष सम्बन्ध, पीडा र समसामयिक विषयवस्तुलाई कवितामार्फत प्रस्तुत गरिएको छ । कृति विमोचनसँगै कार्यक्रममा कविता वाचन र कृतिमाथि विमर्शसमेत गरिएको थियो ।

