कोहलपुर गोल्डकपः आयोजक रेसिङ साहारा फाइनलमा

कोहलपुर, बैशाख २३,

बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ अन्तर्गत आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसियसन क्लब, पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले उपाधि नजिक स्थान बनाएको हो । खेलको पहिलो हाफमै रेसिङ साहाराले सशक्त प्रदर्शन गर्दै अग्रता बनायो । खेलको १६औँ मिनेटमा जर्सी नम्बर २४ का निराजन खत्रीले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि ३८औँ मिनेटमा ओम प्रकाश चौधरीले उत्कृष्ट हेडरमार्फत अर्को गोल थप्दै पहिलो हाफमै स्कोर २–० बनाए ।

दोस्रो हाफमा लालीगुराँस पोखराले खेलमा फर्कने प्रयास गर्दै आक्रामक खेल प्रस्तुत गर्‍यो । ६८औँ मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल गर्न नसक्दा पोखरा प्रतियोगिताबाट बाहिरियो । पटक–पटक अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा उनीहरूको पुनरागमन सम्भव हुन सकेन ।

उत्कृष्ट प्रदर्शन गरेका रेसिङ साहाराका ओम प्रकाश चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, संयोजक कर्ण बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रूपमा नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरेका थिए । रेसिङ साहाराले यसअघि आफ्नो पहिलो खेलमा पञ्चकोशी युथ क्लब, सुदूरपश्चिमलाई १–० गोल अन्तरले हराएको थियो । यता लालीगुराँस पोखराले सातदोबाटो युथ क्लब, काठमाडौंलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

समूह चरणका अन्य खेलहरूमा रोयल फुटबल क्लब, कर्णाली प्रदेश विदेशी टोली जस्ट जोन एफसी नाइजेरियासँग ४–२ ले पराजित भएको थियो भने सातदोबाटोलाई हराउँदै लालीगुराँसले जित निकालेको थियो । त्यस्तै, साविक विजेता राइजिङ स्टार क्लब, सुनवललाई विभागीय टोली नेपाल पुलिस क्लबले पराजित गरेको थियो । चौथो संस्करणको कोहलपुर गोल्डकप वैशाख २६ गते सम्पन्न हुने तालिका रहेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !