कोहलपुर, जेठ २६,
जलवायु परिवर्तन सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रमअन्तर्गत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी तथा समीक्षा बैठक सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्वारा आयोजित कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो अवधिमै सकारात्मक उपलब्धि हासिल गरेको बताएका छन् । कार्यक्रममा बोल्दै श्री सूर्योदय माध्यमिक विद्यालय चिसापानीका प्रधानाध्यापक दीपक बहादुर शाहीले जलवायु परिवर्तनसम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए । उनले जलवायु परिवर्तन वर्तमान समयको प्रमुख चुनौती भएकाले विद्यार्थीसँगै अभिभावकहरूलाई समेत सचेत बनाउने अभियानलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।
बैठकमा सहभागी प्रधानाध्यापकहरूले विद्यालय सरसफाइ, हरियाली प्रवद्र्धन तथा शुद्ध पिउने पानीलगायतका आधारभूत आवश्यकताहरूको व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जलवायु परिवर्तन सचेतना कार्यक्रममा आबद्ध विद्यार्थीहरूले समेत आफ्ना अनुभव, सिकाइ तथा उपलब्धिहरू प्रस्तुत गर्दै कार्यक्रमले आफ्नो सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए । बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले सहजीकरण गरेको बैठकमा संस्थाका निर्देशक हेमराज भट्टले जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रमको उद्देश्य, हालसम्म प्राप्त उपलब्धि, सिकाइ, समस्या तथा चुनौती र आगामी योजनाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित श्री सूर्योदय माध्यमिक विद्यालय, वडा नम्बर ५ का श्री सुन्दर आधारभूत विद्यालय, श्री सिंह भवानी आधारभूत विद्यालय र श्री नेरा माध्यमिक विद्यालय गुरुवागाउँ तथा वडा नम्बर ७ स्थित श्री नेरा माध्यमिक विद्यालय पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक तथा जलवायु क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमले विद्यालय तहबाटै जलवायु परिवर्तन सम्बन्धी ज्ञान, सचेतना र व्यवहारिक अभ्यासलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

