कोहलपुर, असार ५,
क्रियाशील पत्रकार महिलाहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम नेपालगन्जमा सुरु भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, क्रियाशील पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा असार ५ गतेदेखि तालिम सुरु गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा बोल्दै चौलागाईले समयानुकूल तालिमको आयोजना गरिएको उल्लेख गर्दै यसले पत्रकार महिलाहरूको कार्यशैलीमा निखारता ल्याउने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि तालिम आयोजना हुनु सकारात्मक रहेको बताउँदै यसले सहभागीहरूको क्षमता तथा आत्मविश्वास बढाउने धारणा राखे । उनले तालिम सफलताको शुभकामना दिँदै आयोजक संस्थाप्रति आभार पनि व्यक्त गरे । त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार झलक गैरेले व्यवसायिक पत्रकारिताको आवश्यकता बढिरहेको अवस्थामा महिलाहरूको क्षमता विकासका लागि यस्तो तालिम उपयोगी हुने बताए । उनले पत्रकार आचारसंहिता पालना गर्दै निडर र व्यावसायिक रूपमा पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल र अध्यक्ष सवित्री गिरीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत तथा तालिमको उद्देश्यबारे प्रकाश संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । कार्यक्रम सञ्चालन बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन अध्यक्ष वर्माले गरेका थिए । तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारितामा महिलाको सहभागिता र आत्मविश्वास, खोजमूलक पत्रकारिता, समाचार तथ्य जाँच, मिथ्या सूचना तथा मोबाइल पत्रकारिता सम्बन्धी विषयमा प्रशिक्षक कृष्ण अधिकारी, अक्षरी पोख्रेल र हेमराज भट्टले सहजीकरण गरेका थिए ।


तालिमको उद्देश्य पत्रकार महिलाहरूको व्यावसायिक तथा प्राविधिक क्षमता विकास गर्नु, डिजिटल प्रविधि, खोजमूलक पत्रकारिता र आधुनिक लेखन शैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्नु, लैंगिक संवेदनशील रिपोर्टिङ र सामाजिक समावेशीकरणका मुद्दामा क्षमता अभिवृद्धि गर्नु तथा मोफसलमा कार्यरत महिला पत्रकारहरूबीच व्यावसायिक सञ्जाल र सहकार्य सुदृढ बनाउनु रहेको छ । तालिममा पत्रकार कृष्ण अधिकारीले खोज पत्रकारिता किन, सत्यको अन्वेषण, खोज पत्रकारिता के हो, पत्रकारितामा प्रयोग गर्न सकिने डिजिटल प्रविधि लगायतका विभिन्न विषय वस्तुमा प्रशिक्षण दिएका थिए । तीन दिनसम्म सञ्चालन हुने तालिममा २५ जना क्रियाशील पत्रकार महिलाहरूको सहभागिता रहेको छ ।

