कोहलपुर भदौ १६,
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि बाँकेको कोहलपुरस्थित पी.बी.टी. वेस्ट इन्डस्ट्रिज प्रा.लि.ले १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ।
कोहलपुर नगरपालिका–९, बाँकेमा रहेको कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कम्पनीकी सञ्चालिका अन्जना पाण्डेका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त रकम सहयोग गरेको हो।
सरकारी विवरणअनुसार २०८३ भदौ १० गते बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्पछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिँदै दीर्घकालीन पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक रहेको जनाएको छ । विपद्को गम्भीरताका कारण नेपाल सरकारले स्वदेश तथा विदेशमा रहेका व्यक्ति, व्यवसायी, संघसंस्था तथा विभिन्न क्षेत्रलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वानसमेत गरेको छ।
यही आह्वानअनुसार निजी क्षेत्रबाट समेत सहयोग जुट्न थालेको अवस्थामा पी।बी।टी। वेस्ट इन्डस्ट्रिजको सहयोगले विपद्मा परेका परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ । कोहलपुर–९, पिपरीमा रहेको पी।बी।टी। वेस्ट इन्डस्ट्रिज पशुपन्छी पोषणसम्बन्धी उद्योगका रूपमा सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई सहयोग गरेको जनाएको छ।
बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई तत्काल राहतसँगै घर, पूर्वाधार र जीविकोपार्जन पुनःस्थापनाको आवश्यकता रहेको सरकारी निकायहरूले जनाएका छन्। त्यसैले यस्ता विपद्को समयमा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले राहत तथा पुनर्स्थापनाको अभियानमा थप सहयोग पुग्ने देखिन्छ ।

