कोहलपुर, भदौ १७,
रसुवामा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला त्यसको पीडा कम गर्न कोहलपुरबाट मानवीय सहयोगको हात अघि बढेको छ ।
बाढीका कारण घाइते भएका नागरिकको उपचारमा आवश्यक पर्ने रगत अभाव हुन नदिन सञ्चारिका समूह बाँके शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोहलपुरमा आयोजित कार्यक्रममा ३५ जना रक्तदाताले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र रक्तसञ्चार केन्द्र बाँकेको सहकार्यमा सम्पन्न कार्यक्रममा रक्तसञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महत्तरासहितको टोलीले रक्त सङ्कलन तथा व्यवस्थापन गरेको थियो ।
रक्तदानसँगै कार्यक्रमलाई विपद्का बेला सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकासँग जोडिएको थियो । ‘विपद्को समयमा सञ्चारकर्मीको भूमिका’ विषयमा भएको अन्तरक्रियामा सहभागीहरूले पत्रकारिता केवल घटना सुनाउने माध्यम नभई संकटका बेला नागरिकको जीवन रक्षामा समेत सहयोगी बन्नुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले विपद्को समयमा पत्रकारले समाचारभन्दा पनि मानवीय संवेदनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उहाँका अनुसार विपद्का बेला एउटा सही सूचना कसैको जीवन बचाउने आधार बन्न सक्छ भने गलत सूचना वा अफवाहले थप जोखिम निम्त्याउन सक्छ। त्यसैले पत्रकारले तथ्य पुष्टि गरेर मात्रै सूचना सार्वजनिक गर्नुपर्ने बताए । “विपद्मा पहिलो प्राथमिकता ज्यान जोगाउनु हो, त्यसका लागि सही सूचना समयमै प्रवाह गर्नु पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी हो,” चौलागाईंले भने ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले विपद्का समयमा सञ्चारकर्मीप्रति नागरिकको विश्वास अझ बढ्ने भएकाले उनीहरूले थप जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । रसुवा बाढीको असर कोहलपुरसम्म परेको उल्लेख गर्दै उहाँले नगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुका साथै बाढीमा ज्यान गुमाएका कोहलपुरका नागरिकका परिवारलाई समेत सहयोग गरिरहेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले पत्रकार महासंघको विपद् कोषमा सहयोगका लागि रकम जम्मा गरिएको जानकारी दिँदै विपद्का बेला पत्रकार तथा सञ्चारकर्मीले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमै देखाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष डिलप्रसाद गौतमले भने विपद् आइसकेपछि मात्र सूचना दिनेभन्दा जोखिम आउनुअघि नै नागरिकलाई सचेत गराउने प्रणालीमा सञ्चारमाध्यम जोडिनुपर्ने आवश्यकता औँल्याए ।
उनले पूर्वसूचना, सम्भावित जोखिम, सुरक्षित स्थान, उद्धार तथा राहतसम्बन्धी जानकारी समयमै नागरिकसम्म पुर्याउन सञ्चारमाध्यम प्रभावकारी माध्यम बन्न सक्ने बताए । सञ्चारिका समूह बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले विपद्का बेला पीडितको आवाज राज्यसम्म पुर्याउने जिम्मेवारी सञ्चारकर्मीको भएको बताए । उद्धार र राहतपछि पनि प्रभावितको पुनःस्थापनाका विषयमा सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले भने विपद् प्रभावित क्षेत्रमा पुगेर रिपोर्टिङ गर्ने सञ्चारकर्मीको सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । “आफू सुरक्षित भएर मात्रै पत्रकारले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ,” उहाँले भन्नुभयो, “राज्यका सकारात्मक कामको प्रचारसँगै कमजोरी देखिएमा खबरदारी गर्नु पनि पत्रकारको दायित्व हो।” सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्माले विपद्सम्बन्धी सामग्री तयार गर्दा संवेदनशीलता र तथ्यपरकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय सचिव खेमराज शर्माले रक्तदानजस्तो मानवीय अभियानमा सञ्चारकर्मीको सहभागिता आफैंमा सकारात्मक सन्देश भएको बताए । विपद्का बेला पीडितको पीडा देखाउने नाममा संवेदनशील दृश्य तथा सामग्री जथाभावी सार्वजनिक नगर्न पनि आग्रह गरे। अन्तरक्रियामा सञ्चारकर्मी पुष्पराज हमाल, कपिल अञ्जान, शुभाकर विश्वकर्मा र रवि रोकाय लगायतले विपद्का बेला सूचना प्रवाह, पूर्वसूचना प्रणाली, उद्धार तथा प्रभावित नागरिकका समस्याबारे धारणा राखे।
कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य सूर्य ढकाल, नियमित रक्तदाता संघका संयोजक बलबहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओली, महिला नेतृ नारायणी वली, समाजसेवी भूम भण्डारी, सञ्चारकर्मी राजेश आचार्य, स्मृति देवकोटा, प्रमिला विश्वकर्मा तथा जिल्ला ट्राफिक कार्यालयका धमेन्द्र रोकाय लगायतको उपस्थिति थियो।
सञ्चारिका समूह बाँकेले रक्तदानमार्फत रसुवा बाढीका घाइतेको उपचारमा सहयोग पुर्याउने र अन्तरक्रियामार्फत विपद्का बेला सञ्चारकर्मीको मानवीय तथा सामाजिक जिम्मेवारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
