कोहलपुर भदौ २१,
बाँकेको कोहलपुरमा सम्पन्न चौथो कोहलपुर गोल्डकप–२०८३ को आर्थिक विवरण सार्वजनिक गरिएको छ ।
प्रतियोगिता आयोजक कोहलपुर रेसिङ सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो । आयोजकका अनुसार प्रतियोगिताबाट ४४ लाख ८६ हजार ३ सय ७५ रुपैयाँ आम्दानी भएको थियो भने ५४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । आम्दानीभन्दा खर्च बढी भएपछि प्रतियोगितामा ९ लाख ९९ हजार ६ सय २५ रुपैयाँ घाटा भएको प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेतले जानकारी दिए ।
आयोजकले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिता सञ्चालनका क्रममा मैदान मर्मत तथा व्यवस्थापन, मिडिया तथा मार्केटिङ, फ्लेक्स–ब्यानर, मञ्च व्यवस्थापन, टेन्ट तथा साउन्ड सिस्टम, पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र, यातायात र इन्धन, खाना तथा आवास, रेफ्री तथा अफिसियल खर्च, खेलाडी भत्ता र उद्घाटन तथा समापन समारोहलगायत विभिन्न शीर्षकमा रकम खर्च भएको छ ।
‘खेलसँगै पर्यटन, खेलसँगै मनोरञ्जन’ भन्ने नाराका साथ वैशाख १९ देखि २६ गतेसम्म कोहलपुर नगरपालिका–२, तेह्रबिघास्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पश्चिम नेपालकै चर्चित फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको गोल्डकपलाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनसँग जोडिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कोहलपुरलाई खेलकुद तथा पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय टोलीसँग प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र उनीहरूको खेल क्षमता अभिवृद्धि गर्ने उद्देश्य प्रतियोगिताको थियो ।
यसपटक प्रतियोगितालाई वन्यजन्तु तथा वातावरण संरक्षणको सन्देशसँग समेत जोडिएको थियो । बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई प्रतियोगिताको मस्कटका रूपमा प्रस्तुत गर्दै खेलकुदमार्फत संरक्षण र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि भने आयोजक कोहलपुर रेसिङ सहारा क्लबले हात पारेको थियो। आयोजकले गोल्डकपले कोहलपुरमा फुटबलप्रतिको आकर्षण बढाउनुका साथै खेलकुदमार्फत पर्यटन प्रवर्द्धनको विषयलाई थप चर्चामा ल्याएको जनाएको छ । क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने संरक्षक, प्रायोजक, स्थानीय तह, सञ्चारकर्मी, खेलाडी, रेफ्री, स्वयंसेवक तथा खेलप्रेमी सबैप्रति आभार व्यक्त गरेका छन् ।
