हवलदारपुरमा रक्तदान कार्यक्रम, ३१ जनाले गरे रक्तदान

कोहलपुर, भदौ २८,

बाँकेको कोहलपुर–१४ हवलदारपुरस्थित कृषि हाटबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समाज सेवा संस्था नेपाल, केन्द्रीय कार्यालय कोहलपुर–१४ हवलदारपुरको आयोजनामा भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान, जीवन दान’ भन्ने मूल नाराका साथ भोटेकोशीमा आएको बाढी प्रभावित घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगन्ज, बाँकेको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगन्ज, बाँकेका वरिष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सभापतित्व समाज सेवा संस्था नेपालका केन्द्रीय अध्यक्ष विनोद थापा मगरले गरेका थिए । कार्यक्रममा हवलदारपुर कृषि हाटबजारका अध्यक्ष नरेश पौडेल, धनवर्षा इन्डष्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।लि।का सुधीर सिंहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले रक्तदान मानवीय सेवाको उत्कृष्ट कार्य भएको बताए । उनले एक व्यक्तिले गरेको रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदानका लागि प्रेरित गर्नुपर्ने धारणा राखे । बाढी तथा विपद्का समयमा घाइते तथा बिरामीका लागि रगतको माग बढ्ने भएकाले यस्ता रक्तदान कार्यक्रमको अझ बढी आवश्यकता रहेको उनको भनाइ थियो ।

त्यस्तै, सभापति विनोद थापा मगरले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । उनले विपद्को समयमा पीडितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि समाज सेवा संस्था नेपालले मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदान गर्नु मानव जीवन बचाउने महत्वपूर्ण सेवा भएको भन्दै यस्ता अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताएका थिए । कार्यक्रमबाट संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा प्रयोग हुने आयोजकले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !