आर्थिक रूपमा सक्षम बनाउन सके किशोरी सशक्त हुन्छन् : अर्याल

कोहलपुर, असोज २,

किशोरीहरूको क्षमता विकाससँगै उनीहरूलाई आर्थिक गतिविधिमा जोड्न सके आत्मनिर्भर र सशक्त बनाउन सकिने गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मुकुन्द अर्यालले बताएका छन् ।

गुलरिया नगरपालिकाले किशोरीहरूलाई सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । किशोरीहरूको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन तथा उनीहरूलाई उत्पादनशील कार्यमा सहभागी गराउने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट विनियोजनमार्फत समेत किशोरी सशक्तीकरणका कार्यक्रमलाई समेट्दै आएको छ । किशोरीहरूलाई उद्यमशीलतातर्फ अघि बढाउँदै उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समेत सहयोग गर्ने गरिएको छ ।

किशोरीहरूको क्षमता विकासमा नगरपालिकाले गरिरहेको प्रयासले अधिकांश किशोरीमा सकारात्मक प्रभाव पारिरहेको अर्यालले बताए । “आर्थिक क्रियाकलाप सशक्त बनाउन सके किशोरी सशक्त हुन्छन्,” अर्यालले भने, “पूर्ण रूपमा भन्न नसकिए पनि अधिकांश किशोरीको क्षमता विकासमा केही न केही प्रभाव पारिरहेकै छौँ ।”

नगरपालिकाले किशोरीहरूलाई उत्पादनशील तथा सिर्जनात्मक कार्यक्रममा समेट्दै उनीहरूको सीपलाई आयआर्जनसँग जोड्ने प्रयास गरिरहेको छ । यसका साथै किशोरी तथा बालबालिकाको अधिकार संरक्षणका लागि बालविवाह अन्त्य गर्ने अभियानलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ । गुलरिया नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रम तथा अभियान सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

किशोरी सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, उद्यमशीलता विकास र बालविवाह अन्त्यका लागि गरिएका प्रयासले दिगो विकास लक्ष्य हासिल गर्न समेत योगदान पुग्ने नगरपालिकाको अपेक्षा छ । दिगो विकास लक्ष्य पूरा गर्न गुलरिया नगरपालिका कोसेढुङ्गा बनिरहेको अर्यालले बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !