कोहलपुर, असोज २,
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर सिटी एकेडेमीका शिक्षक–कर्मचारी, विद्यालय प्रशासन र विद्यार्थीहरूले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार ९९९ रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालय परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को यस घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय परिवारले सहयोग गरेको हो । मानवीय सेवा तथा राहतका लागि आफ्नो तर्फबाट सानो भए पनि योगदान पुर्याउने उद्देश्यले शिक्षक–कर्मचारी, विद्यालय प्रशासन र विद्यार्थीहरूको संयुक्त पहलमा सहयोग रकम संकलन गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल प्रशान्त रिजालले जानकारी दिए ।
प्रिन्सिपल रिजालले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताएका छन् । उनले विद्यालयले विद्यार्थीहरूमा पढाइसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गराउने उद्देश्यले समेत सहयोग अभियानमा सहभागी गराएको बताए ।
उनले भने,“विपद्का कारण पीडामा रहेका नागरिकलाई सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो । रकम ठूलो वा सानोभन्दा पनि पीडितका लागि सहयोग गर्ने भावना महत्वपूर्ण हुन्छ । विद्यालय परिवारको तर्फबाट गरिएको यो सहयोगले विद्यार्थीहरूमा समेत सेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।”
विद्यालयका शिक्षक–कर्मचारी, प्रशासन र विद्यार्थीहरूको संयुक्त प्रयासबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास विद्यालयले जनाएको छ ।
