कोहलपुर, बैशाख ३,
मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको चौथो दिन अत्यन्तै भव्य र मनोरञ्जनपूर्ण रूपमा सम्पन्न भएको छ।

चौथो दिनको प्रमुख आकर्षणका रूपमा चर्चित नेपाली अभिनेता पल शाह को विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा उनी मञ्चमा देखिने बित्तिकै दर्शकहरू उत्साहले भरिएका थिए । सयौं दर्शकहरूले उनलाई घेरेर स्वागत गरेका थिए भने कार्यक्रमस्थल नै उत्साह र उमंगले भरिएको देखिन्थ्यो । पल शाहले आफ्नो टोलीसहित प्रस्तुत गरेको संयुक्त प्रस्तुति अत्यन्तै आकर्षक र ऊर्जावान् रह्यो ।

उनका नृत्य, अभिनय शैली र दर्शकसँगको प्रत्यक्ष संवादले कार्यक्रमलाई अझै रोमाञ्चक बनाएको थियो । दर्शकहरू उनको प्रत्येक प्रस्तुतीसँगै नाच्दै, गाउदै रमाइरहेका थिए । धेरै दर्शकहरूले उनीसँग फोटो खिच्न र नजिकबाट भेट्न समेत भीड लागेको दृश्य देखिन्थ्यो । समग्रमा, पल शाहको उपस्थितिले मेलालाई नयाँ उचाइमा पुर्याएको अनुभूति गरिएको छ। यसै दिन राष्ट्रिय कलाकारका रूपमा भिमसेन खत्री, चौधरी समुदायकी चर्चित गायिका सोमती चौधरी तथा विभिन्न नृत्याङ्गनाहरूको दमदार प्रस्तुति समेत रहेको थियो । उनीहरूको गीत–संगीत र नृत्यले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो। चौथो दिनको मेला उद्घोषकका रुपमा आर.जे. रास्कोटी मगरले गरेका थिए, जसले आफ्नो शैली र ऊर्जा मार्फत दर्शकहरूलाई निरन्तर जोडिराख्न सफल भएका थिए ।

आयोजकका अनुसार भोली पाँचौं दिन चर्चित लोक तथा दोहोरी गायक बद्री पंगिनी लगायतका अन्य राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ, जसले मेलालाई अझै थप आकर्षक र मनोरञ्जनपूर्ण बनाउने विश्वास लिइएको छ। मेला निरन्तर रूपमा दर्शकहरूको उल्लेख्य सहभागितासहित अघि बढिरहेको छ र मगर समुदायको भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको आयोजकले जनाएको छ।

