१८ वर्ष विदेशमा बगाएको पसिना, घर फर्किँदा रित्तो हात : पुरानो अटोरिक्साको सहारामा जीवन चलाउँदै एक श्रीमान्

कोहलपुर, कात्तिक १९,

अटोरिक्साको स्टेयरिङ समातेर यात्रु ओसारिरहेका बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरका उस्मान खाँ कुनै समय परिवारको सुखद भविष्यको सपना बोकेर खाडी मुलुक कतार पुगेका थिए । उमेरका ऊर्जाशील वर्षहरू विदेशको मरुभूमिमा पसिना बगाउँदै बिताए । परिवारको खुसी, छोराछोरीको भविष्य र घरको जिम्मेवारी पूरा गर्ने एउटै उद्देश्य थियो उनको । तर १८ वर्षसम्म विदेशमा बगाएको पसिना र कमाएको सम्पत्तिको हिसाब खोज्दै आज उनी आफ्नै जीवनको कठिन मोडमा आइपुगेका छन् ।

कुनै समय परिवारको आर्थिक आधार बनेका उनी अहिले पुरानो अटोरिक्सा चलाएर जीविका चलाइरहेका छन् । १८ वर्षसम्म दुःख गरेर कमाएको पैसा सकिएको उनको दाबी छ । न सम्पत्तिको भर छ, न विदेशमा कमाएको पैसाको सहारा । बाँकी छ त केवल विगतको संघर्ष, टुटेको विश्वास र न्यायको प्रतीक्षा । उनका दुई सन्तान छन् । १२ वर्षकी छोरी र ८ वर्षका छोरा । आफू रोजगारीका लागि विदेश जाँदा घरपरिवारको सम्पूर्ण जिम्मेवारी श्रीमतीलाई सुम्पिएका थिए । आफू विदेशमा पसिना बगाउने र श्रीमतीले घरपरिवार तथा छोराछोरीको हेरचाह गर्ने उनको सोच थियो ।

कतारमा रहँदा उनले नियमित रूपमा श्रीमतीको नाममा पैसा पठाउने गरेको बताउँछन् । कहिलेकाहीँ बुवाको नाममा पनि रकम पठाउने गर्थे । लामो समयसम्म श्रीमतीमाथि विश्वास गरेर आर्थिक जिम्मेवारी सुम्पिएका उनलाई श्रीमतीको अर्कै व्यक्तिसँग प्रेम सम्बन्ध रहेको जानकारी थिएन । उनका अनुसार श्रीमती र अर्का पुरुष बददाम भनिने संशुद्धोहा खाँ बीच प्रेम सम्बन्ध विकास भएको थियो । उनी विदेशमा कमाएको रकमसमेत उनीहरू दुवैले खर्च गर्ने गरेको उनको आरोप छ । १८ वर्षसम्म विदेशमा कमाएको सम्पत्तिको अहिले कुनै हिसाबकिताब नरहेको उनको गुनासो छ ।

श्रीमतीको सम्बन्धबारे जानकारी पाएपछि उनी कतारबाट नेपाल फर्किए । नेपाल आएर श्रीमतीसँग यस विषयमा कुराकानी गरे । उनका अनुसार श्रीमतीसँग सम्बन्धमा रहेका व्यक्तिले उनलाई कुटपिट गर्ने, धम्क्याउने र पैसा माग्ने गरेका थिए । विवाद बढ्दै गएपछि इलाका प्रहरी कार्यालय खजुरासम्म घटना पुग्यो । श्रीमतीले समेत आफूविरुद्ध जबरजस्तीकरणी गरेको आरोप लगाउँदै ती पुरुषविरुद्ध जाहेरी दिएको उनको भनाइ छ ।

मुद्दा दर्ता भएको करिब १५–२० दिनपछि उनका छोरीलाई आफ्नो घरमा लिएर गएको उनले बताए । त्यसपछि श्रीमती करिब एक महिनासम्म माइतीमा बसेकी थिइन् । यसैबीच प्रहरीले स्वास्थ्य परीक्षणका लागि भेरी अस्पताल पठाएको र परीक्षणका क्रममा श्रीमती गर्भवती रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ । पछि भदौ महिनामा धनौली प्रहरी चौकीमार्फत पुनः मेडिकल परीक्षण गराउँदा गर्भ ११ हप्ता ६ दिनको रहेको जानकारी आएको उनले बताए । उनका अनुसार भदौ २ गते मेडिकल परीक्षणपछि श्रीमती माइती गएकी थिइन् । माइतीमा दुई दिन बसेपछि भदौ ४ गते उनी फेरि ती पुरुषसँग गएको उनको आरोप छ । श्रीमती घरमा नभेटिएपछि उनका बुवाले खोजतलास सुरु गरे । रुपैडिहास्थित प्रहरी कार्यालयमा समेत उजुरी दिएर छोरीको खोजी गरिदिन आग्रह गरेको उनले बताए ।

केही दिनपछि छोरीले फोन गरेर आफू प्रेमीसँगै रहेको र आफ्नो चिन्ता नगर्न बुवालाई भनेको उनको भनाइ छ । यस घटनापछि परिवारभित्रको विवाद थप जटिल बनेको उनको दाबी छ । गर्भसम्बन्धी विषयमा समेत भारतसम्म पुगेको घटनाक्रम रहेको उनले बताए । यस विषयमा सम्बन्धित निकायबाट सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ । उनको अहिलेको मुख्य माग दुईवटा छन् । पहिलो, वैवाहिक सम्बन्ध र प्रहरीमा परेको मुद्दाको निष्पक्ष अनुसन्धान होस् । दोस्रो, विदेशमा १८ वर्षसम्म दुःख गरेर कमाएको रकम कहाँ र कसरी खर्च भयो भन्ने हिसाब सार्वजनिक होस् । उनका अनुसार आफूले विदेशमा कमाएको रकम श्रीमतीको नाममा पठाउने गरेको भए पनि अहिले आफूसँग कुनै बचत छैन । परिवारको भविष्यका लागि कमाएको सम्पत्तिको अवस्था के भयो भन्ने प्रश्नको जवाफ उनी खोजिरहेका छन् ।

उनले श्रीमतीसँग सम्बन्ध रहेको आरोप लागेका पुरुषको परिवार आर्थिक रूपमा सम्पन्न रहेको र आफूलाई न्यायिक प्रक्रियामा कमजोर बनाउने प्रयास भइरहेको आशंका पनि व्यक्त गरेका छन् । वकिल तथा न्यायिक प्रक्रियासँग सम्बन्धित व्यक्तिहरूसँग आर्थिक चलखेल गरेर आफूलाई कमजोर पार्ने प्रयास भइरहेको उनको आरोप छ । ती पुरुषलाई धरौटीमा छुटाउनसमेत चलखेल भइरहेको उनको दाबी छ । हाल आरोपित पुरुष हिरासतमा रहेको उनले बताएका छन् । यद्यपि मुद्दाको वास्तविक अवस्था, आरोपको प्रकृति र संलग्न व्यक्तिहरूको दोष वा निर्दोषिता सम्बन्धित अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै टुङ्गिनुपर्ने विषय हो ।

यो घटनामा सबैभन्दा बढी प्रभावित हुने अवस्थामा दुई बालबालिका छन् । १२ वर्षकी छोरी र ८ वर्षका छोरा । आमाबुवाबीचको विवाद र पारिवारिक विखण्डनले उनीहरूको भविष्यमा कस्तो असर पार्ला भन्ने चिन्ता पनि उत्तिकै छ । परिवारको सुखद भविष्यका लागि विदेशमा जीवनका महत्त्वपूर्ण वर्षहरू बिताएका उनी अहिले आफ्नै सन्तानको भविष्यबारे चिन्तित छन् । विदेशमा कमाएको पैसा सकिएपछि पुरानो अटोरिक्सा चलाएर घरखर्च जुटाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

उनी आफूले न्याय पाउनुपर्ने माग गरिरहेका छन् । तर उनको भनाइमा आफूलाई मात्र न्याय दिएर पुग्दैन, घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान हुनुपर्छ ।
दुवै पक्षबाट गल्ती भएको छ भने दुवैलाई कानुनअनुसार कारबाही हुनुपर्छ । दोषीलाई सजाय हुनुपर्छ र निर्दोषले न्याय पाउनुपर्छ । यो घटनाको राम्रोसँग छानबिन होस्, सत्यतथ्य बाहिर आओस्,ु उनको माग छ । १८ वर्षसम्म विदेशमा पसिना बगाएर परिवारको भविष्य निर्माण गर्ने सपना देखेका उनी आज पुरानो अटोरिक्साको सहारामा जीवन धानिरहेका छन् । उनको कथा केवल श्रीमान्–श्रीमतीबीचको विवादमा सीमित छैन । यो वैदेशिक रोजगारी, पारिवारिक विश्वास, आर्थिक पारदर्शिता, बालबालिकाको भविष्य र न्यायिक प्रक्रियासँग जोडिएको संवेदनशील विषय पनि हो । अब उनको अपेक्षा एउटै छ, विगतमा आफूले भोगेको दुःखको उचित मूल्याङ्कन होस्, कमाएको सम्पत्तिको वास्तविक हिसाब खुलोस् र घटनाको निष्पक्ष छानबिनबाट न्याय प्राप्त होस् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !