हृदयमा टाँसिइरहने अछामको स्वर्ग रामारोशन

कोहलपुर, बैशाख १०,

हिउँको पछ्यौरी आढेर, गुँरासकोे लालीमा सजिएको अछामको स्वर्ग रामारोशन । हिमालको काखमा तालैतालहरूको संगम रामारोशन । पहाडको काखमा हरियाली, तालहरू र बादलको रोमान्चक मेलाको संगम रामारोशन । रामारोशन अछामको हृदयमा लुकेको स्वर्ग हो ।

नेपालको सुदूरपश्चिम प्रदेश जहाँ इतिहास, प्रकृति र संस्कृतिको विशिष्टता रहेको छ । यस्तै विशिष्टताले भरिएको अछाम जिल्लामा रामारोशन एक अनुपम प्राकृतिक छ्टाको रुपमा विद्यमान छ । रामारोशनले बोकेको उच्च पर्यटकीय संभावना बिस्तारै प्रयोगमा आउँदै छ । पर्यटकहरू यहाँ पुगेर यसको प्रशंसा गरेर थाक्दैनन् ।

प्रकृतिको विशिष्ट कला पोखिएको रामारोशन अछाम जिल्लाको पूर्वीत्तरमा पर्दछ । समुन्द्री सतहबाट २,५४६ मिटरको उचाईमा फैलिएको रामारोशन रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहान पनि हो । रामारोशनलाई पूर्वमा कालिकोट, पश्चिममा अछामको भाटाकाटिया, उत्तरमा जिल्लाको सबैभन्दा अग्लो चुचुरो चाकाडाँडा र दक्षिणमा रामारोशन गाउँपालिकाको अल्लेडीले घेरेको छ ।

यहाँ साना ठूला गरी १२ वटा तालहरु र १८ वटा रमणीय मैदानहरु जसलाई (बाह्र वण्ड) अठार खण्डका रुपमा चिनिएको छ । रामारोशनलाई धार्मिक रुपमा हेर्ने हो भने यसको आफ्नै विशेष महत्व रहेको छ । रामारोशन क्षेत्रमा पाइने जडिबुटीहरू, वनस्पति र चराचुरुङ्गीहरूले यसलाई जैविक सम्पदाको रूपमा समृद्ध बनाएका छन् । हिमाली र पहाडी जनावरहरू, दुर्लभ चरा प्रजातिहरू– सबै यहीँ भेटिन्छन् । बादलभित्र हराउँदै गएको डाँडा, त्यसमुनि सुन्दर तालहरू, हरियाली बगैंचाजस्तै बिस्तारित फाँट ।

राज्यको पहुँच र प्राथमिकतामा नपरेका कारण पर्यटनको अथाह सम्भावना हुँदा हुँदै पनि स्तरीय आवास, सुरक्षित सडक लगायतका धेरै संरचनाहरुको पर्खाइमा रहेको छ रामारोशन । यहाँका रहर लाग्दा फाँटहरु, मनमोहक तालहरु, अनेक थरीका फूलहरु, राष्ट्रिय पंछी डाँफे, मुनाल, चराचुरुंगी र अन्य दुर्लभ वन्यजन्तुहरु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरुको उपस्थितिले भनिरहेका छन् हर कोहीले पुग्नै पर्ने गन्तव्य हो रामारोशन ।

पहाडी खोंच भित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशनमा विभिन्न खालका जडिबुटीहरु, झरनाहरु, ठूलठूला ढुंगाहरु, रातो, सेतो तथा गुलाबी लाली गुँरास र गुफाहरु रहेका छन् । रामारोशनमा रहेका दुईवटा मुख्य खण्डमध्ये पहिलो खण्डमा परापूर्वकालमा रामे नामको एकजना गोठालाले सबैभन्दा पहिले रामे मैदानमा गोठ बनाएको जनश्रुति रहेको छ । त्यसैले उक्त ठाउँको नाम रामे राखिएको र अर्को खण्ड रमाइलो एवं रसिलो भएकोले त्यस ठाउँको नाम रोशन रहन गएको मानिन्छ । यी दुइवटा नामबाट यस स्थानको नाम रामारोशन हुन गएको हो ।

यो क्षेत्र धार्मिक मान्यतामा आधारमा देवी भगवतीको क्रिडास्थल हो । त्यस क्षेत्र भित्र रहेका तालहरुमा दुर्गा भवानीहरुले स्नान गर्ने गरेको र त्यस भित्रका जमिनका भाग र त्यहा नजिकका पहाडका चुचुरा थुम्काहरु जस्तो मालिका, नन्दमाता, चाका, आदि ठाउँहरुमा देवी भगवतीहरुको वासस्थान रहेको भन्ने विश्वास छ । रामारोशनमा हरियो र निलो, सेतो चिल्की, चुनढुंगा, कालो चिल्की, कालो ग्रिफ पत्थर, गेरु, तोरे (नुनिलो) पर्खाल जस्तै देखिने अमूल्य ढुंगाका संरचनाहरू, मैदानभरी बेरीएर बग्ने पानीका कुलाहरु अनि पारी पहाडबाट झरिरहने झरना पर्यटकलाई आर्कषण गर्ने प्रमुख माध्यम हुन् ।

रामारोशन क्षेत्रमा क्यान्सर रोगको औषधीमा प्रयोग हुने लौठ सल्ला प्रशस्त पाइनुका साथै सयौं थरीका महत्वपुर्ण तथा मुल्यवान जडिबुटीहरु पनि पाइन्छन् । रामारोशनमा पुगिसकेपछि महसुस गरिने स्वच्छ हावा, हरियाली र प्राकृतिक सुन्दरताले यात्राका सबै असजताहरु सामान्य लाग्न थाल्छन् । यहाँको संस्कृति पनि विशिष्ट छ । मिश्रित समुदायहरूको बसोबास रहेको यो ठाउँमा पाहुनालाई देउडामार्फत स्वागत गर्ने गरिन्छ ।

यहाँका बासिन्दाहरूको जीवनशैली प्रकृतिमैत्री छ । यहाँको संस्कृति, रहनसहन र आतिथ्यता पनि रामारोशनको अर्को पहिचान हो । यहाँको सुर्योदय र सूर्यास्तको दृश्यले पनि मन्त्रमुग्ध पार्दछ । शान्त वातावरण, चिरबिराउने चराहरूको आवाज, तालमा देखिने आफ्नै निलो आकृति र निलो आकाशले यात्रुलाई अद्भुत अनुभूति दिन्छन् । रामारोशन सुन्दरता विश्वभरका मानिसहरुले दृश्यावलोकन गर्नलायक छ । यसलाई प्रकृति तथा पर्यटनका पारखीहरुसम्म पुर्याउन काम गर्नुपर्ने आवश्यकता छ । रामारोशन स्थान मात्र होइन, अनुभव हो । यस्तो अनुभव, जुन आत्मामै पुगेर बस्छ । रामारोशन क्षेत्र जैविक विविधता तथा संस्कृतिका अनुसन्धानकर्ताका लागि पनि निकै महत्वपूर्ण छ ।

रामारोशनलाई प्रकृतिसँगै यहाँका मानिसहरू, उनीहरूको संस्कृति र जीवनशैलीले अझै बिशाल बनाएको छ । पहुँचको सहज व्यवस्था गर्न सकियो, स्थानीयहरुमा पर्यटन व्यवसायका शीपहरु विकास गर्न सकियो र प्रचार प्रसार गर्न सकियो भने यो अछाम जिल्लाको मात्रै नभै समग्र देशकै आर्थिक उन्नतिको संवाहक बन्न सक्नेछ ।

यस क्षेत्रको प्रचार प्रसारमा विभिन्न संघ संस्था तथा समूहहरुले पर्यत्न गरिरहेका छन् । विभिन्न मेला महोत्सवहरुमार्फत यसको प्रचार प्रसार भइरहेको छ । पछिल्लो पटक अछाम गजल मन्चले साहित्यकार तथा पत्रकारहरुलाई यहाँ भेला गराएर रामारोशनको महिमाको प्रचारमा सघाउने प्रयन्त गरेको थियो । विकाससँगै यसको प्राकृतिक स्वरुपको संरक्षण गर्नुपनि उत्तिकै जरूरी छ । जैविक विविधता, संस्कृतिको जगेर्ना, र वातावरणीय सन्तुलनको रक्षा गर्दै दिगो पर्यटन विकास गर्नु आजको आवश्यकता हो । आउनुहोस् रामारोशनको विकासका लागि हालेमालो गरौं ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !