डा. भीम रावलको ‘मातृभूमि जागरण अभियान’–राष्ट्रिय चेतना, वैकल्पिक शक्ति र जनउत्तरदायितामा जोड

कोहलपुर, जेठ ९,

नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री, पर्यटन, गृह तथा रक्षमन्त्री डा. भीम रावलले सत्तारूढ र प्रतिपक्षीय दलहरूप्रति व्यापक असन्तुष्टि रहेको वर्तमान राजनीतिक परिवेशमा नयाँ राष्ट्रिय राजनीतिक अभियान ‘मातृभूमि जागरण अभियान, गरिरहेका छन् ।

भ्रष्टाचार, कुशासन, परनिर्भरता र राजनीतिक विकृतिविरुद्धको यो अभियान राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सुशासनको सन्देश बोकेको छ । डा. रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔं; मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरुद्ध जुटौं” भन्ने मूल नारासहित वैकल्पिक शक्ति निर्माणको आह्वान गरेका छन् । अभियानको क्रममा बाँकेको कोहलपुर र नेपालगञ्जमा शुक्रबार भव्य कार्यक्रम गरेका छन् । जहाँ स्थानीय नागरिक, बुद्धिजीवी, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. रावलले युवा पुस्तालाई मातृभूमिप्रति समर्पित रहन आह्वान गर्दै भने,–‘देश विकासको मेरुदण्ड नै सच्चा नागरिक चेतना हो । हामी सबैले राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई पहिलो स्थान दिनुपर्छ ।’ उनले संघीयता, समावेशिता र स्वतन्त्रताको मर्म अनुसार सशक्त र स्थायीत्वपूर्ण राजनीतिक अभ्यासको खाँचो औंल्याउँदै, संविधानको रक्षा र कार्यान्वयनमा एकजुट हुनुपर्नेमा जोड दिए । अभियानको संगठनात्मक संरचना वडादेखि केन्द्रसम्म विस्तार गरिने जानकारी दिदैं डा. रावलले हरेक तहमा संगठन विस्तारको प्राथमिक उद्देश्य अभियानलाई केन्द्रिय तहसम्म पु¥याउनु र जनस्तरमा सशक्त बनाउनु भएको बताए ।

गृहजिल्ला अछाममा भने रावलको प्रभाव गहिरो रहेको आँकलन गरिएको छ । विगतमा सुदूरपश्चिम इञ्चार्जका रूपमा टिकट वितरणदेखि रणनीतिमा निर्णायक भूमिका खेलेका उनीप्रति अझै पनि धेरै नेता, कार्यकर्ता र जनता सकारात्मक छन् । डा. रावल एक समय एमालेभित्र लोकप्रिय उपाध्यक्ष थिए । डा. रावलले ‘मातृभूमि जागरण अभियान’ एक राजनीतिक आन्दोलनभन्दा बढी राष्ट्रव्यापी चेतना निर्माणको प्रयास भएको बताए ।

सत्ताको तथा पदको लोभ भन्दा अलग, सैद्धान्तिक स्पष्टता, राष्ट्रिय स्वाधीनताको पक्षपोषण र समावेशितामूलक नेतृत्वको चाहना बोकेको यो अभियानले निकट भविष्यमा वैकल्पिक राजनीतिक शक्तिको निर्माणतर्फ लैजाने डा. रावलले संकेत गरे ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !