कोहलपुर, जेठ २३,
बाँके राष्ट्रिय निकुञ्जको हरियाली छायाँभित्र एउटा यस्तो स्थान छ, जहाँ प्रकृतिसँग नजिकिँदै वन्यजीवनको चुपचाप कथा सुनिन्छ । त्यो स्थान हो मचान । निकुञ्जका विभिन्न स्थानमा बनाइएका मचानहरूले निकुञ्ज अवलोकनमा आउने पर्यटक, अनुसन्धानकर्ता र संरक्षणकर्मीहरूलाई अनौठो अनुभव दिन्छन् । निकुञ्जभित्र हालसम्म निर्माण गरिएका करिब १० वटा मचानहरू काठ र फलामको मिश्रणले बनेका सुरक्षित संरचना हुन् । जुन लगभग ४० फिट उचाइमा निर्माण भएका छन् । ती मचानहरूबाट वरिपरि फैलिएको घाँसेमैदान, चुरे पहाडका हरिया छायाँहरू र छिनछिनमा देखिने मृग वा चित्तलका झुन्डहरूले मन मोह्याउने दृष्य बनाउँछन् ।
यी मचानहरू बाघजस्ता संवेदनशील वन्यजन्तु नजिकबाट देख्न सकिने सुरक्षित स्थल हुन् । बिहान सबेरै या साँझको समयमा मचानबाट हेर्दा, बाघ शिकार खोज्दै घाँसेमैदान तर्ने, मृग चरिरहेका, बँदेल समूहमा घुमिरहेको जस्ता दृश्य सजिलै देख्न सकिन्छ । प्रकृतिको आफ्नै लयमा रमाइरहेका चराहरूको आवाजले वातावरण झन् जादुमय बनाउँछ । मचानहरूले पर्यटकलाई रोमाञ्चक वन सफारीको अनुभूति दिन्छन् भने जैविक विविधता अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि स्थिर र स्पष्ट अवलोकन स्थल पनि हुन् । फोटो र भिडियो डकुमेन्टेसनको लागि मचान एकदम उपयुक्त हुन्छन् ।
निकुञ्ज प्रशासनले भविष्यमा मचानहरूको संख्या बढाउँदै, ती स्थानलाई जैविक अध्ययन, इको टुरिज्म केन्द्रको रूपमा पनि विकास गर्ने योजना बनाएको छ । स्थानीय समुदायको सहभागिता र संरक्षणका कार्यक्रमहरूमार्फत यी मचानहरू वन्यजीवन संरक्षण र जनचेतनाको उदाहरणीय केन्द्र बन्ने सम्भावना बोकेको वरिष्ठ संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए । बाँके राष्ट्रिय निकुञ्जका मचान केवल अवलोकन स्थल मात्र होइनन्, तिनले हामीलाई प्रकृतिसँग जोड्ने एक सजीव पुलका रूपमा काम गर्छन् । यहाँबाट देखिने प्राकृतिक सौन्दर्य र वन्यजन्तुहरूको जीवनदर्शन, हरेक आगन्तुकका लागि अविस्मरणीय अनुभव बन्न जान्छ ।