बाँके राष्ट्रिय निकुञ्जमा विस्तारिँदै घाँसेभूमि

कोहलपुर, जेठ २५,

बाँके राष्ट्रिय निकुञ्जका गहिरा वन जंगलभन्दा अलि फरक अनुभूति दिने क्षेत्र हो । त्यो खुला, नर्म, हरियो घाँसेमैदान । जहाँ सूर्यको किरण सहजै ओहोरदोहोर गर्छ । हावाले घाँसलाई लहराउँछ, अनि कतैबाट एक्कासि चित्तलको झुन्ड देखा पर्छ। यिनै दृश्य अब अझ फैलिँदै छन् । बाँके राष्ट्रिय निकुञ्जले करौंती क्षेत्रमा झन्डै ५० हेक्टर घाँसेभूमि थप्ने तयारी गरिरहेको छ । घाँसेमैदान विस्तार केवल हरियालीको सौन्दर्यभन्दा पर छ ।

बाघको गम्भीर र प्रखर दृष्टिले खुलेको मैदान नियाल्नु केवल रमाइलो दृश्य मात्र होइन । उसको शिकारको मैदान हो । बाघ जस्ता शिकारजन्य वन्यजन्तुका लागि घाँसेमैदान भोजन जुटाउने प्रमुख स्थल हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार, “बाघ वर्षमा औसत ५० सिकार गर्छ । यस्तोमा सिकारजन्य प्रजातिहरूको संख्या नघटोस भनेर घाँसे क्षेत्र विस्तार अत्यावश्यक भएको हो ।”

हाल बाँके राष्ट्रिय निकुञ्जभित्र करिब ४ सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान छ । यी क्षेत्रहरूमा मृग, चित्तल, चौका, बँदेल जस्ता वन्यजन्तुहरू चरन गर्दछन् । जो बाघलगायत अन्य मांसाहारी प्रजातिका प्रमुख आहार हुन् । अब करौंती क्षेत्रतर्फ थपिने ५० हेक्टर घाँसेभूमिले वन्यजीवनलाई न केवल आहार, तर सुरक्षित आवास पनि दिनेछ । घाँसेमैदान विस्तारले केवल बाघ वा मृगलाई मात्र फाइदा पु¥याउँदैन । यसले वातावरण सन्तुलन, माटोको क्षरण नियन्त्रण, जल स्रोतको रक्षा र जैविक विविधताको संवर्धनमा समेत ठूला योगदान दिन्छ । घाँसेभूमिमा हुने प्राकृतिक पुनरुत्पादनले दीर्घकालीन रूपमा निकुञ्जको पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउँछ ।

निकुञ्ज वरिपरिका बासिन्दाहरूका लागि पनि घाँसेमैदान अप्रत्यक्ष वरदान हुन् । चरन क्षेत्र व्यवस्थापन, संरक्षण पर्यटन प्रवद्र्धन, तथा जैविक अध्यनका अवसरहरूमार्फत उनीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ । बाघ हेर्ने पर्यटनको सम्भावना पनि यस्ता विस्तारबाट अझै उज्यालो बन्न सक्छ । बाँके राष्ट्रिय निकुञ्जमा भइरहेको यो घाँसे क्षेत्र विस्तार केवल वर्तमानको जरुरत होइन । यो भविष्यको पूर्वाधार हो । एउटा यस्तो पहल, जसले वन्यजन्तुको आहार, वातावरणीय सुरक्षा र पारिस्थितिक सन्तुलन तीनै पक्षलाई समेटेर संरक्षणको मार्गमा सशक्त पाइला चालिरहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा फैलिँदै गरेको घाँसे मैदान केवल हरियालीको विस्तार होइन, यो जीवनका थुप्रै रूपहरूको रक्षा र पुनर्जन्म हो । संरक्षणको यो प्रयासले एकदिन बाघको गर्जनसँगै चराहरूको कलरव पनि झन् गहिरो बनाउनेछ । त्यो बेला प्रकृतिले नै बाँकेको घाँसे भूभागको महत्व बताउनेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !