नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘तिर्सना’ को म्युजिक भिडियो सार्वजनिक

कोहलपुर, असोज ४,

नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘तिर्सना’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

असोज ३ गते बाँकेको कोहलपुरस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजित विशेष समारोहका बीच भिडियो सार्वजनिक गरिएको हो । गायक ओम शर्मा र चर्चित गायिका बिन्दु परियार को सुमधुर स्वर रहेको गीतमा पत्रकार तथा गीतकार निरज निश्चल को शब्द र चर्चित संगीतकार दीपक शर्मा को संगीत रहेको छ । प्रेम, भावना र संवेदनशील कथावस्तुलाई समेटिएको गीतले दर्शक–श्रोताको मन छुने विश्वास निर्माण पक्षले गरेको छ ।

म्युजिक भिडियोमा कलाकार दुर्गा राणा मगर, नवीन जिसी, सम्झना खनाल र सफल डि।के। ले अभिनय गरेका छन् । भिडियोको कथा, कन्सेप्ट तथा निर्देशन नवराज सुवेदी ले गरेका हुन्। कलाकारहरूको जीवन्त अभिनय र आकर्षक दृश्य संयोजनले गीतलाई थप प्रभावशाली बनाएको बताइएको छ । कार्यक्रममा कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम न्यौपाने, साहित्यकार कपिल अन्जान, महेन्द्र सेढाई, देवकी निरौला तथा डा। खोपीराम ओली लगायतले संयुक्त रूपमा भिडियो सार्वजनिक गरेका थिए ।

भिडियो सार्वजनिक कार्यक्रममा कलाकार, पत्रकार, सञ्चारकर्मी, साहित्यकार, कला–संगीतप्रेमी तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले ‘तिर्सना’ले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका थिए ।

सशक्त शब्द, मधुर संगीत, उत्कृष्ट गायन र जीवन्त अभिनयको संयोजन रहेको ‘तिर्सना’ ले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । नयाँ पुस्ता र पुराना संगीतप्रेमी दुवैलाई आकर्षित गर्ने अपेक्षा गरिएको यो गीतले नेपाली संगीत क्षेत्रमा थप चर्चा बटुल्ने संकेत देखाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !