प्रकृति प्रेमी, कलाकुञ्ज
विषय प्रवेश
प्रेमको सुगन्ध २०८२ निर्दोष जीवनद्वारा लिखित नवीनतम कृति, मुक्तक सङ्ग्रह हो । जसमा विविध भाव र विषयवस्तुमा लेखिएका , सिर्जना गरिएका २०० मुक्तकहरू समाविष्ट छन् । गायक तथा सङ्गीतकारसमेत रहेका जीवनका यसअघि गीति एल्वमहरू, कथा सङ्ग्रह मैयाँ र उपन्यास, नोस्टाल्जिया पनि प्रकाशित भैसकेको छ र दुबै कृतिहरूको दोस्रो संस्करण बजारमा पाउन सकिन्छ प्रेमको सुगन्ध सार्वजनिक भएको दुई हप्तामै दोस्रो संस्करण बजारमा आउनुले लेखकको क्षमता र ख्यातिलाई आँकलन गर्न सकिन्छ ।
मुक्तकबाहेक झट्ट पुस्तक हेर्दैमा जञ्जीर फोटोग्राफीको आवरणले मन तानिहाल्छ । खोतल्दै जाँदा प्रकाशकको रुपमा गजल मञ्च चितवन र मुद्रण सिद्धबाबा अफसेट प्रेस एवम् वितरकको रुपमा सम्पूर्ण किताब नारायणगढ रहेको देख्न सकिन्छ । अगाडिपट्टि गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायसको प्रकाशकीय लेख र पछाडितिर उपप्राध्यापक रमेश प्रभात, धनराज गिरी एवम् लेखराम सापकोटाका शुभकामना, शुभेच्छाका थुङ्गाहरू भेट्न सकिन्छ । सबैभन्दा ओज थपिएको कभरको पछिल्तिर मुक्तक साम्राज्ञीको संज्ञा पाउन सफल वरिष्ठ साहित्यकार उषा शेरचनको शुभभाव रहेको छ ।
प्रेमको सुगन्ध चारैतिर फैलनुको कारणबारे केही तथ्य खोतल्ने प्रयास यहाँ गरिएको छ । निर्दोष जीवन सादा जिन्दगी जिउन चाहने व्यक्तित्व हुन् । उनी प्रेममा दिन पनि तयार छन् र प्रेम पाउन पनि उनी कोमल हृदयका भावुक प्रवृत्तिका छन् । आफ्नी मायालुलाई सधैं निर्मल पानी भैदिन आग्रह गरिएको सङ्ग्रहको दोस्रो मुक्तक मलाई प्रेमिल लाग्यो
म फूल तिमी निर्मल पानी भैदिनु
तिमी सधैं यो आँखाको नानी भैदिनु
प्रेमको यो दुनियाँमा सधैंभरि राज गर्ने
म राजा तिमी मेरी रानी भैदिनु
पृष्ठ १, मुक्तक २
देशको अवस्था राजनीतिक अस्थिरता, उद्योगधन्दा, व्यापार , व्यवसाय गर्ने वातावरण नहुनु, बजारीकरण एवम् बेरोजगारी जस्ता समस्याले युवाहरू तेस्रो मुलुकलगायतका देशहरूमा भाँस्सिदै छन् । अमेरिका, अष्ट्रेलिया जस्ता देशहरूमा पुगेकाहरू उतै अभ्यस्त भैसकेका हुन्छन् । नेपालमा, गाउँमा बुढा बाबुआमा छोराछोरी, नातिनातिनाको न्यास्रोले तड्पिरहेका हुन्छन् तर उनीहरूमा मानवता होइन, संस्कार होइन पैसाको भोकले, अहम् ताले, व्यस्त जीवनशैलीले जरा गाडेको हुन्छ ।
आफ्ना आमाबाबुलाई बोझ ठान्छन् र वृद्धाश्रममा लगेर राखिदिन्छन् ।
यस्तै सामाजिक समस्यालाई पस्किएको एउटा समसामयिक मुक्तक हेरौं है
यसपालि पनि चाडबाड आएर गयो
भिडियोमा टीका, आशिर्वाद थापेर गयो
विदेश गाुको छोरो वर्षौंपछि घर फर्कियो
बा आमालाई बृद्धाश्रम राखेर गयो
पृष्ठ ५, मुक्तक १०
यदि नेपालमा नेता ईमानदार हुने हो भने दस वर्षको अवधिमा देशमा कायापलट हुनसक्छ । महङ्गी घट्छ, बन्द भएका एवम् नयाँ उद्योग कलखारखानारू सुचारु हुन्छन् । लाखौं जनताले रोजगारीको अवसर पाउँछन् । शिक्षा , स्वास्थ्य , सञ्चारका क्षेत्रमा प्रगति हुन्छ, तर विडम्बना यी सबै कुराहरू चुनावअघिका घोषणापत्रमा मात्रै सिमित हुन्छन् । नेताहरूले पटकपटक ढाँट्छन्, हामी बुद्दु जनताहरू फेरि तिनै नेताहरूलाई पटकपटक विश्वास गर्छौं यस्तै चुनावअघि नेताहरूले भन्ने र हामीले विश्वास गर्ने परम्परा मुक्तकमा यसरी समेटिएको छ :
आज फेरि नेताज्युले ढाँट्दै हिँड्नु भो
देशको विकास गर्ने भाषण छाँट्दै हिँड्नु भो
सिधासादा जनतालाई मीठो सपना देखाएर
निमुखाको रहरलाई काट्दै हिँड्नु भो
पृष्ठ ८६, मुक्तक १७२
वि.सं. २०६१ मा आशिर्वाद नामक गजल, मुक्तक र हाइकु सङ्ग्रह प्रकाशनको २१ वर्ष पछि मुक्तक सङ्ग्रह प्रकाशन गरेका निर्दोषले प्रेमको सुगन्धुमा कर्णालीका दुख पनि समटेका छन् । बाटोघाटो, बिजुली, शिक्षा लगायतका समस्याबाट कहिलेसम्म वञ्चित हुनुपर्ने हो भनेर सरकारलाई जायज प्रश्न तेर्साउन तयार छन् उनी
कहिलेसम्म याचना गर्दै रुनुपर्ने हो
सधैं उपेक्षित अनागरिक हुनुपर्ने हो
कहिले आउँछ गाउँमा मोटर, बाटो, बिजुली
अब कर्णालीलाई विकासले छुनुपर्ने हो
पृष्ठ ९९, मुक्तक १९८
निर्दोष जीवनको पछिल्लो कृति मुक्तक सङ्ग्रह प्रेमको सुगन्धको उच्चतम सफलताको कामना गर्दै व्यक्तिगत, साहित्यिक एवम् सामाजिक व्यक्तित्वको उन्नयनको कामना गर्दै शीर्ष मुक्तकसहित ओझेलिन्छु
वाचा कसम टुटी जान्छन् प्रेमको सुगन्ध रहिरहन्छ
कैँयौँ साथ छुटी जान्छन् प्रेमको सुगन्ध रहिरहन्छ्र
कहिलेकाहीँ नसोचेको भईदिन्छ हाम्रो जिन्दगीमा
आफ्नैहरूले लुटी जान्छन् प्रेमको सुगन्ध रहिरहन्छ
पृष्ठ ७, मुक्तक १४

