कोहलपुर, असोज २८,
श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय, कौशिलानगर बाँकेमा सञ्चालित सि. सं. ५२ औ एन सि सि जुनियर डिभिजन तालीमको वार्षिक सामूहिक क्याम्पअन्तर्गत दीक्षान्त कवाज भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेमबहादुर पुनले क्याडेट छात्रछात्राहरूले प्रदर्शन गरेको जोशिलो र फुर्तिलो कवाजबाट आफू प्रभावित भएको बताए । उनले १०० दिनको लामो तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा क्याडेटहरूलाई बधाई दिँदै युवा शक्ति नैतिकवान्, इमानदार, कर्तव्यनिष्ठ र देशभक्त हुनुपर्नेमा जोड दिए ।

तालिमका क्रममा हासिल गरेको सैनिक कला, विपद् व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व र अनुशासनसम्बन्धी ज्ञानले क्याडेटहरूलाई भविष्यका चुनौती सामना गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । साथै, तालिम प्राप्त युवायुवतीले राष्ट्रिय सेवा दलको अल्मुनाई एसोसिएसनमा आबद्ध भई समाज निर्माण र राष्ट्रको समृद्धिमा योगदान पुर्याउनुपर्ने बताए । दीक्षान्त कार्यक्रममा क्याडेट छात्रछात्राहरूले दीक्षान्त कवाज, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । प्रमुख अतिथि पुनले उत्कृष्ट क्याडेटहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका थिए । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका १४ जिल्लाका १८ विद्यालयबाट २६७ छात्र र २६८ छात्रा गरी कुल ५३५ जना क्याडेट तालिममा सहभागी भएका थिए ।

तालिममा सामान्य सैनिक ज्ञान, ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो र एरोबिक्सलगायतका विषय समावेश थिए । वार्षिक सामूहिक क्याम्पमा विषयगत विशेषज्ञबाट कक्षा सञ्चालन, हाइकिङ, सामाजिक कार्य, खेलकुद, सांस्कृतिक कार्यक्रम तथा विभिन्न प्रतियोगितात्मक गतिविधिसमेत सञ्चालन गरिएको थियो । यसैबीच, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्लाटुनको उपाधि ‘घ’ गुल्म नम्बर १ से.मु. ले हासिल गरेको छ भने मिड वेस्ट प्वाइन्ट एकेडेमी दाङ उत्कृष्ट घोषित भएको छ ।
राष्ट्रिय सेवा दलले युवामा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रियता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले यस्ता तालिम सञ्चालन गर्दै आएको छ । यस वार्षिक सामूहिक क्याम्पको सर्वोत्कृष्ट छात्र मिड वेस्ट पोइन्ट एकेडेमी दाङका सिनियर अन्डर अफिसर क्याडेट मनिष ओली भएका छन् । यसैगरी वार्षिक सामूहिक क्याम्पमा सर्वोत्कृष्ट क्याडेट छात्रा पेट्रियट इङ्लिस मिडियम स्कुल बर्दिया कम्पनी जुनियर अन्डर अफिसर क्याडेट रिदिमा बिष्ट भएकी छन् । वार्षिक क्याम्पमा पब्लिक स्पिकिङतर्फ कनका सुन्दरी माध्यमिक विद्यालय जुम्लाकी छात्रा रजनी बडवाल प्रथम भएकी छन् । यस्तै मोडल ब्रिफिङतर्फ मिड वेस्ट पोइन्ट एकेडेमी दाङका क्याडेट छात्र मनिष ओली भएका छन् । भने विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरी मिड वेस्ट पोइन्ट एकेडेमी दाङ वेस्ट प्लाटुन बन्न सफल भएको छ ।
दीक्षान्त कवाज कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शरद लामिछाने, सैनिक अस्पताल नेपालगंजका निमित्त कमाण्डाण्ट महासेनानी डा. मुन थापा, श्री पश्चिम असबाब खाना डिपोका डिपोपति महासेनानी जयराम थापा, सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय नौबस्ता बाँकेका समावेशक एसएसपी चित्राङग दहाल, श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी शिशिर के.सी., श्री जबरजङ्ग गण बर्दियाका गणपति दिपेन्द्र शाही, श्री रणबम गण ओभरी ब्यारेक बाँकेका गणपति खिमबहादुर डाँगी, बज्रदल गण राजा ब्यारेक नेपालगञ्जका गणपति सन्तोष अधिकारी, श्री उत्तरपश्चिम पृतना ईएमई गणका गणपति अनुप डंगोल तथा श्री मध्यपश्चिम पृतना तालिम शिक्षालयका निमित्त शिक्षा अधिकृत सेनानी खिलबहादुर थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जि.सी. सशस्त्र प्रहरी बल नेपाल ३० गणका गणपति एसपी भिम बहादुर चन्द, बाँके जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरु, अल्मुनाई एसोसिएसनका कर्णाली तथा लुम्बिनी प्रदेशका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।


यस्तै वार्षिक सामूहिक क्याम्पअन्तर्गत पहिलो चरणको सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । मंगलबार साँझ श्री सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेमबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुनले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयकी सेनानी शान्ति आचार्यका अनुसार तालिमको पाठ्यक्रममा समावेश विभिन्न विधामध्ये सांस्कृतिक कार्यक्रमलाई पनि महत्त्वपूर्ण विधाका रूपमा समेटिएको थियो । कार्यक्रममा सहभागी क्याडेटहरूले राष्ट्रिय भावनाले ओतप्रोत प्रस्तुति, मौलिक नेपाली संस्कृति झल्काउने कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । सांस्कृतिक प्रतियोगिता अन्तर्गत प्रस्तुत गरिएका १८ वटा विद्यालयका नृत्यहरूमा शिव माध्यमिक विद्यालय सुर्खेत प्रथम स्थान हासिल गर्न सफल भएको हो । राष्ट्रिय सेवा दलले युवायुवतीमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रियता, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गर्दै आएको छ ।


