कोहलपुर, कार्तिक २०,
राष्ट्रिय फुटबल खेलाडी पूजा रानालाई कोहलपुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौढीकी रानालाई कोहलपुर नगरपालिकाले प्रमाण पत्र, फूलमाला तथा नगर ५१ हजारसहित सम्मान गरेको हो । साफ महिला फुटबल प्रतियोगितामा बंलादेशसँग पराजित हुँदै नेपाली टोली उपविजेता भएको थियो । रानाले फुटबलमार्फत बाँकेलाई समग्र देशमा चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

कोहलपुर नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीको सभाध्यक्षमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख पूर्णप्रसाद आचार्यले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडीहरुले देशको नाम उच्च राखेको बताएका छन् । उनले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा पछिल्लो समय कोहलपुर नगपालिकाले विद्यालयस्तरका खेल तथा गोल्ड कप, वडास्तरीय फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरु आयोजना गरिरहेको बताए ।

नगर प्रमुख आचार्यले खेलाडीहरुको आत्मबल र क्षमताको सम्मान गर्दै भावी दिनहरुमा यसरी नै खेलाडीहरुको सम्मान गरिने बताए । उनले खेलकुद क्षेत्रमा आउन ईच्छुक खेलाडीहरुलाई नगरपालिकाले सधै प्रोत्साहित गर्ने बताए । कुनै पनि खेलाडी आर्थिक अवस्थाका कारण खेलकुदबाट बाहिर रहनु नपर्ने बताए । उनले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे । आचार्यले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाइ रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता सराहनीय रहेको धारणा राखे ।

यस्तै कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी पौडेलले कोहलपुरको चेलीलाई यसरी सम्मान गर्न पाउँदा हर्षित तुल्याएको बताईन् । कार्यक्रममा जनप्रतिनिधिहरु, कोहलपुर नगरपालिका सामाजिक शाखा संयोजक ईश्वरी बि.क., ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक कार्यालय प्रमुख पुस्कर पन्त लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रानाले आफूलाई यस स्थानसम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले यस किसिमको सम्मानले आफुलाई थप हौसला मिलेको बताइन् ।

