कोहलपुर नगरपालिकाले स्थानीय संचार नीति ल्यायो, पत्रकारहरुसँग सुझाव आदानप्रदान

कोहलपुर, बैशाख ९,

कोहलपुर नगरपालिकाले स्थानीय स्तरमा प्रभावकारी सञ्चार प्रणाली विकास गर्न स्थानीय संचार नीति सार्वजनिक गरेको छ ।

नगरपालिकाले नीति सार्वजनिक गर्दै पत्रकारहरुसँग विशेष छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकाल, र पत्रकारहरुको उपस्थितिमा स्थानीय संचार नीति सार्वजनिक गरेको हो । छलफलमा सहभागी पत्रकारहरूले संचार नीतिको स्वागत गर्दै, संचार पहुँच, सूचना प्रवाहको पारदर्शिता, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, सूचना अधिकारको सुनिश्चितता लगायतका विषयमा आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए ।

उनीहरुले यतिले मात्रै नभई पत्रकारहरुका सुझावहरुलाई नीतिमा समेट्नु पर्ने बताएका थिए । कार्यक्रममा नगर प्रमुख आचार्यले स्थानीय संचारलाई व्यवस्थित, जिम्मेवार र जनमुखी बनाउन यो नीति ल्याइएको बताए । पत्रकारहरुका सुझावलाई मध्यनजर गर्दै नीति कार्यान्वयन गर्ने बताए । उनले भने,–‘पत्रकारिता क्षेत्रसँगको सहकार्यमार्फत नीतिलाई अझ प्रभावकारी बनाइनेछ ।’

पत्रकारहरूले नीति कार्यान्वयनमा स्पष्ट योजना, पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम, आपतकालीन संचार संयन्त्र, र नगरपालिकाको सामाजिक सञ्जाल प्रयोगमा एकरूपता ल्याउनुपर्ने सुझावहरू दिएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूमध्ये केहीले संचार नीतिले जनप्रतिनिधि र आम नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरे ।

साथै, संचार माध्यमहरूसँगको समन्वय, विज्ञप्ति र जानकारीको समयमै प्रवाह, र अनलाइन सूचना व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि औंल्याए । नगरपालिकाले छलफलमा आएका सुझावहरू समेटेर नीति कार्यान्वयनको कार्ययोजना छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !