कोहलपुर सिटी एकेडेमीमा सम्पन्न वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

कोहलपुर, मंसिर १,

विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै मानसिक, शारीरिक तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा भव्य रूपमा सुरु गरिएको वार्षिक खेलकुद प्रतियोगिता सोमबाार सफलतापूर्वक सम्पन्न भएको छ ।

चार दिनसम्म निरन्तर चलेको यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साह, सहभागिता र प्रतिभाले विद्यालय परिसर एकदमै ऊर्जा–पूर्ण बनेको विद्यालयले जनाएको छ । खेलकुद कार्यक्रम मूल रूपमा तीन दिन सञ्चालन हुने भनिए पनि विद्यार्थीहरूको अत्यधिक सहभागिता र खेलहरू पूर्णरूपमा सम्पन्न गर्न आवश्यक समय थपिनु परेपछि एक दिन थपेर चार दिनसम्म सञ्चालन गरिएको थियो ।

प्रतियोगिताको प्रारम्भिक दिनमा विद्यार्थीहरूले आकर्षक मार्चपास, सांस्कृतिक प्रस्तुति तथा विभिन्न ट्रयाक र फिल्ड इभेन्टहरूमा सहभागिता जनाएका थिए । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूबीच १०० मिटर दौड, २०० मिटर दौड, शटफुट, ज्याब्लिन थ्रो, लङ्ग जम्प, ट्रिपल जम्प, हाइ जम्प, रिले दौड, साथै भलिबल र कबड्डी जस्ता टोलीगत खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका साना बालबालिकाहरूका लागि कुर्ची दौड, चकलेट दौड सहितका रमाइला खेलहरू राखिएको थियो, जसले बालबालिकाहरूमा आत्मविश्वास र खेलप्रतिको अभिरुचि अझ बढाएको थियो । सम्पन्न समापन दिवसमा पनि रिले दौड, त्रिक्रकेट, कबबड्डी, फुटसल, लगायतका विभिन्न खेल विधाहरू अत्यन्तै उत्साहजनक बनेका थिए । प्रतियोगितालाई सफल बनाउन फिल्ड मार्शल रमेश शाही ठकुरी, प्रशिक्षक लोकेन्द्रबहादुर चन्द, सुशील कुमार खत्री, रोहित कुमार खत्री, तथा खेल संयोजक आभाष विक्रम क्षेत्री लगाय विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

संस्थापक प्रिन्सिपल प्रशान्त रिजालले विद्यालयले शैक्षिक विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई सदैव प्राथमिकतामा राख्दै आएको बताए । यस वर्षको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य, अनुशासन तथा सकारात्मक प्रतिस्पर्धा भावना विकसित भएको उल्लेख गरे । उनले भने,–‘खेलकुद केवल शारीरिक फाइदामा सीमित छैन, यसले लक्ष्यप्रति निरन्तर अघि बढ्ने आत्मविश्वास र जीवनभर उपयोगी पर्ने सिकाइहरू प्रदान गर्छ। आगामी वर्षहरूमा हामी यस प्रतियोगितालाई अझ व्यवस्थित, भव्य र अन्तरविद्यालय स्तरसम्म विस्तार गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने अवसरहरू थप्दै जानेछौँ ।’

विद्यालयले यस वर्षको सफल आयोजनाले भविष्यमा खेलकुदलाई अझ व्यापक बनाउने, विद्यार्थीहरूमा नेतृत्व, सहकार्य र अनुशासनको संस्कारलाई संस्थागत गर्ने लक्ष्यलाई थप मजबुत बनाएको जनाएको छ । यो चारदिने कार्यक्रमले विद्यालयको खेल संस्कृति र विद्यार्थीहरूको समग्र विकासमा प्रभावकारी योगदान गरेको विश्वास व्यक्त गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !