राष्ट्रिय सेवा दल साँस्कृतिक साँझ पश्चिम तालिम शिक्षालय कौशिलानगर क्याम्प बाँकेमा भव्य रुपमा सम्पन्न

कोहलपुर, मंसिर १८,

श्री राष्ट्रिय सेवा दल साँस्कृतिक साँझ पश्चिम तालिम शिक्षालय कौशिलानगर क्याम्प बाँकेमा भव्य रुपमा सम्पन्न भएको छ ।

राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिम अन्तर्गत साँस्कृतिक साँझ बिहीबार भव्य रुपमा सम्पन्न भएको हो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । उनले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । साँस्कृतिक कार्यक्रममा क्याडेटहरूले विभिन्न जाति, समुदाय तथा संस्कृति झल्किने विभिन्न सांगीतिक प्रस्तुती राखेका थिए ।

मोडल ब्रिफिङ, पब्लिक स्पिकिङ तथा साँस्कृतिक प्रतियोगितामा विजयी विद्यालय र क्याडेटहरूलाई पुरस्कार वितरण गरिएको थियो । १८ वटा विद्यालयको सहभागिता रहेको साँस्कृतिक प्रस्तुतीहरु मध्य तीनवटा विद्यालयले उत्कृष्ठ प्रर्दशन गर्दै पुरस्कृत भएका छन् । साँस्कृतिक कार्यक्रममा दिपज्योति माध्यमिक विद्यालय बाँके प्रथम भएको छ भने छिन्चु बोर्डिङ स्कुल दृतीय, तथा गोरखा सेकेन्डरी तृतीय भएका छन्। यस्तै पब्लिक स्पिकिङमा छिन्चु ईङ्गलिस बाेर्डिङ स्कुल सुर्खेतकी छात्रा निरु खड्का प्रथम, कालिका माध्यमिक विद्यालय सल्यानकी स्नेहा खड्का द्वितीय तथा डिभाइन टेम्पल एकेडेमी दाङका प्रचण्ड दाहाल तृतीय भएका छन्। यता मोडल ब्रिफिङतर्फ नन्दादेवी माध्यमिक विद्यालय कालिकोटकी गरिमा बुढा प्रथम, डिभाइन टेम्पल एकेडेमी दाङकी जीवा बुढाथोकी द्वितीय तथा महाकाली माध्यमिक विद्यालय कञ्चनपुरका गौरव राना तृतीय भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी ढकालले विजयी क्याडेट तथा विद्यालयहरूलाई नगद पुरस्कार, कदरपत्र, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्दै क्याडेटहरूको आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र राष्ट्रसेवाप्रतिको प्रतिबद्धताप्रति प्रशंसा व्यक्त गरे । राष्ट्रिय सेवा दलले अनुशासनयुक्त, सक्षम र जिम्मेवार युवा उत्पादन गर्ने उद्देश्य अनुसार सञ्चालन गरिएको यो कार्यक्रम सोही लक्ष्यप्रति केन्द्रित र सफल भएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा सैनिक अस्पताल नेपालगंजका निमित्त कमाण्डान्ट सागर कर्णिकार, नम्बर ४ बाहिनी सहायक बाहिनीपति महा सेनानी सुभाष के.सी, राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय शिक्षाधिकृत प्रमुख सेनानी शिशिर के.सी., बज्रदल गणका प्रमुख सेनानी राम चन्द्र श्रेष्ठ, पश्चिम असवाव निमित्त प्रमुख, प्रमुख सेनानी प्रकाश अधिकारी, श्री मध्यपश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी दिनेश घले, लगायत विभिन्न गणका गणपतिहरु लगायतको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी २२ जिल्लाका ५४ विद्यालयमध्येबाट छनोट गरिएका १८ विद्यालयका ५४० जना क्याडेटले सहभागिता जनाएका छन् । मिति २०८२ असार ९ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय सेवा दलको तालिम मिति २०८२/०८/१९ गते औपचारिक रूपमा दीक्षान्त कवाजमार्फत समापन गरिने छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !