कोहलपुर महोत्सव–२०८२ तयारी अन्तिम चरणमा, पौष ९ देखि भव्य रूपमा उद्घाटन हुने

कोहलपुर, मंसिर २१,

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने कोहलपुर महोत्सव-२०८२ को सबै तयारी अन्तिम चरणमा पुगेको छ ।

“दिगो विकासको उत्सव” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यो महोत्सव पौष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर न्युरोडको खुल्ला मैदानमा भव्य रूपमा आयोजना हुनेछ । कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि २०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो महोत्सव यस क्षेत्रकै सबैभन्दा ठूलो व्यापारिक, सांस्कृतिक र पर्यटन आकर्षण मानिन्छ । यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष तथा प्रतिष्ठित उद्योगी–व्यवसायी चन्द्र प्रसाद ढकालले गर्ने तय भएको आयोजक संघले जनाएको छ ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका उद्योग–व्यवसाय, हस्तकला, कृषि तथा पशुजन्य उत्पादन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, सूचना–सञ्चार प्रविधिका नयाँ आयाम, लोक–साँस्कृतिक कार्यक्रम, नयाँ प्रतिभा खोजी प्रतियोगिता तथा महिला लक्षित विशेष प्रस्तुतिहरू रहनेछन् । दर्शक तथा सहभागीलाई आकर्षित गर्ने उद्देश्यले यस वर्षका कार्यक्रमहरू अझ विविध, सहभागीमूलक र अनुभवमूलक हुने बताइएको छ । महोत्सवलाई सफल, सुरक्षित र प्रभावकारी बनाउन संघले स्थानीय सरकार, प्रहरी तथा सुरक्षा निकाय, स्वास्थ्य संस्था र सरोकारवालाहरूसँग सघन समन्वय गरिरहेको छ । सबै प्रशासनिक तथा प्राविधिक तयारी सचिवालयमार्फत तीव्र गतिमा अघि बढाइएको प्रेस संयोजक निर्मल आचार्यले जानकारी दिएका छन् ।

संघका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, नयाँ प्रविधिको प्रचार–प्रसार, कला–संस्कृति संरक्षण तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनेछ । साथै, कोहलपुरलाई प्रदेशस्तरमै प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यस वर्षको संस्करणलाई अझ व्यवस्थित, समावेशी र व्यवसायमैत्री बनाइएको छ । महोत्सवका माध्यमबाट स्थानीय उद्यमी तथा उद्योगीको क्षमतावृद्धि, व्यवसायिक वातावरणको विस्तार तथा समग्र क्षेत्रको दिगो आर्थिक विकासमा टेवा पुग्ने विश्वास आयोजक संघले व्यक्त गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !