कोहलपुरमा अठारौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै

कोहलपुर, मंसिर २४,

कोहलपुर नगरपालिकामा आयोजित नवौं अन्तर मा.वि./दोस्रो आ.वि. तथा अठारौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ बिहीबार एक भव्य समारोहबीच सुरु हुने भएको छ।

खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर चिमाला क्षेत्रीको अध्यक्षतामा सम्पन्न बुधबार भएको पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा समिति संयोजक ईश्वरी बी.के. प्रमुख अतिथि रहेका थिए।

यस वर्षको प्रतियोगितामा आधारभूत स्तरदेखि माध्यमिक तहसम्मका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। आधारभूत तर्फ २९७ जना छात्रा र ४३४ जना छात्र गरी ७३१जना तथा मा.वि. तर्फ ६३६ छात्र र ४११ छात्रा गरी ११२७ विद्यार्थीले सहभागि हुन भएका छन्। प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, मार्सल आर्टस्, कबड्डी, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपटसहितका इभेन्टहरू समावेश गरिएको छ।

सम्मेलनमा प्रमुख अतिथि बी.के.ले विद्यालयस्तरमा आयोजित खेलकुद कार्यक्रमले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा आधार तयार पार्ने बताएका छन् । उनले आजका बालबालिकामै लगानी गरे मात्र भोलिका सक्षम नागरिक र उत्कृष्ट खेलाडी जन्मिने बताए । खेलकुदले विद्यार्थीलाई ऊर्जा, प्रेरणा र सकारात्मक मार्गदर्शन दिने उल्लेख गर्दै कोहलपुर नगरपालिकाले खेल विकासलाई दिगो रूपमा अगाडि बढाउन आवश्यक सहयोग निरन्तर गर्दै आएको छ र आगामी दिनमा अझ विस्तार गरिने जानकारी दिए ।

उनले सुरक्षित, व्यवस्थित र पारदर्शी ढङ्गले प्रतियोगिता सञ्चालन गर्न आयोजकलाई शुभकामना व्यक्त गरे ।

प्रतियोगिता मंसिर २५ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने छ। बिहीबार बिहान ११:३० बजे उद्घाटन र २९ गते समापन कार्यक्रम हुने सूचनापत्रमा उल्लेख छ। कार्यक्रमको उद्घाटन कोहोलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले गर्ने जानकारी दिएको छ। कोहलपुर नगरपालिकामा रहेका ४४ माध्यमिक विद्यालयमध्ये ४३ विद्यालयको सहभागिता तथा आ.वि. १९ विद्यालय सहभागिता १० रहेका छन्। विद्यार्थीहरूको सहभागिता, विद्यालयहरूको साथ र स्थानीय तहको सक्रियताले कोहलपुरमा खेलकुदको वातावरण विस्तारै मजबुत बन्दै गएको देखिन्छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !