कोहलपुर, माघ १२,
बाँके क्षेत्र नम्बर–१ मा यही फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । अहिलेको निर्वाचन कुन पृष्ठभूमिबाट हुँदैछ भन्ने कुरा सबैलाई जानकारी भएको नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउँछन् । उनी अहिलेको निर्वाचनले नेपाली समाजमा केही महत्वपूर्ण प्रश्नहरू उठाएको धारणा राख्छन् । ढकालले भने,–‘देशको शासन सत्ता नेपाली नागरिकहरूले नै चलाउने कि विदेशीको ईसाराबाट संचालित भएका व्यक्तिहरूले चलाउने ?’
उनका अनुसार यो दोस्रो प्रश्न मात्र होइन, यो नेपाली समाजको भविष्यसँग जोडिएको मुख्य प्रश्न हो । त्यसैगरी, ‘नेपाली समाजलाई शान्तिपूर्ण ढंगले परिवर्तन गर्न सकिन्छ या हिंसा, हत्या, लुटपाट, अपहरण शैलीबाट अगाडि बढाउने ?’ भन्ने प्रश्न पनि अहिलेको निर्वाचनले उठाएको ढकालको दाबी छ । उनले तेस्रो प्रश्न पनि उठाउँछन्,–‘राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने या कमजोर बनाएर जाने ?’ यी प्रश्नहरूको बीचमा रहेर प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने अवस्थाले ढकाललाई चुनौति भएको छ, र उनी विश्वास गर्छन् कि ‘यिनै प्रश्नहरूको उत्तर यो निर्वाचनले दिनेछ ।’
‘अहिले एमालेको तर्फबाट दोस्रो पटक चुनावी मैदानमा छु’ ढकालले एमालेको तर्फबाट दोस्रो पटक चुनावी मैदानमा उत्रिएको बताए । यसपटक पनि नेकपा एमालेले क्षेत्र नम्बर–१ बाट सर्वसम्मत रुपमा उम्मेदवारी दिएको र पार्टीले आफूलाई विश्वास गरेको बताए । अघिल्लो पटक मतदान गर्ने आफू निकटका धेरै मतदाताहरूलाई सोध्दा ‘आउनुपर्छ’ भन्ने प्रतिक्रिया आएको र २६ हजार ५०० मतदातामध्ये अधिकांशले ‘तिमी आउनुपर्छ’ भनेको उनी बताउँछन् । ‘हामीले तपाईंलाई पाँच वर्षको अवधिका लागि निर्वाचित गरेका थियौँ, देशको विषम परिस्थितिले काम गर्न पाउनुभएन,’ ढकालले भने । उनी थप्छन्,–‘बाँकी समयको लागि तपाईँ काम गर्नु भनेर आफूलाई सहमति दिएको पार्टीले सिफारिस गरेको दुई वर्ष तपाईँले के गर्नुभयो भन्ने प्रश्न छ । म निर्वाचित भइसकेपछि केही महत्वपूर्ण कामहरूको सुरुवात भएको छ’
ढकालले निर्वाचित भएपछि केही महत्वपूर्ण कामहरूको सुरुवात भएको बताए । अघिल्लो निर्वाचनको बेलामा उनले केही मुद्दा उठाएको र ती मुद्दाहरू छ महिनाभित्र सुरु गर्न नसके अयोग्य घोषणा गर्नुस् भनेको उनले स्मरण गरे । उनका अनुसार हुलाकी राजमार्गका अधुरा पुलहरू मध्ये छ वटा पुल छन् र तीनवटा पुलको काम सुरुवात भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका बस्तीहरूमा वन्यजन्तु र मानवबीच द्वन्द्व रहेको बताउँदै ढकालले भने,,–‘नीतिगत सुधार गर्नुपर्ने थियो। नीतिगत सुधार अन्तर्गत जङ्गली जनावरले आक्रमण गर्यो भने पहिले डेढ लाख पाउँथ्यो, अहिले १० लाख पाउँछ ।’ उनले थपे,–‘मध्यवर्ती क्षेत्रमा बाटो बनाउन, पुल बनाउन, ढल निकास गर्न, नाली निर्माण तथा विद्युत विस्तार गर्न निकुञ्जले रोक्थ्यो । पछिल्लो समय सङ्घ, प्रदेश तथा स्थानीय तहले बजेट विनियोजन गर्यो भने मध्यवर्ती क्षेत्रभित्र घना बस्ती भएको क्षेत्रमा काम गर्न सकिने कानुनी हिसाबले सुधार गरेका छौँ ।’
त्यस्तै, मध्यवर्ती क्षेत्रको तारबारलाई अगाडि बढाएको राप्ती सोनारी र नरैनापुरलाई केन्द्रबिन्दु बनाएर त्यहाँका युवाहरूलाई रोजगारी प्रदान गर्नको निमित्त बैजापुर औद्योगिक ग्राम स्थापना गरिएको उनले बताए । भक्ते खोला को डाइभर्सन काम सम्पन्न भएको र चुकेनालको तटबन्धनको लागि १५ करोड, झगडिया र विषमपुरका लागि १० करोड रुपैयाँ विनियोजन भएर काम सुरु भएको उनले जानकारी दिए । उनले कचनापुरको मधुवार–राजपुर–ढकरीेमा
पक्की पुल बनाउन डीपीआर भएर काम अगाडि बढेको बताए । मोटैयादेखि बेतालीसँम्म जोड्ने राप्ती नदीमा झुलुङ्गे पुल निर्माण गर्न डीपीआरको लागि पैसा छुट्टाइएको पनि उनले बताए ।
‘अधिकांश विद्यालयका अधुरा भवन छन्, ती पूरा गर्ने काम अगाडि बढेका छन् ।’ ढकालले अधिकांश विद्यालयका अधुरा भवन पूरा गर्ने गरी काम अगाडि बढेको बताए । कोहलपुर नगरपालिकाको १३ बिगाहमा कभर्ड हल तथा फुटबल मैदान निर्माण भइरहेको र ती अधुरा काम पूरा गर्नका लागि पनि काम अघि बढेको बताए । ढकालले आफ्नो उम्मेदवारीको आधारमा बजेटको विषयलाई पनि जोड दिएका छन् । उनी भन्छन्,–‘राष्ट्रिय गौरवका योजनालाई बेलैमा सम्पन्न गर्न विगतको भन्दा ठ्याक्कै त्रिवल बजेट पार्न आफू सफल भएकोका कारण पनि आफैंलाई प्रश्न गर्दा म योग्य छु कि छैन भने सम्पूर्ण कामहरूमा उत्कृष्ट नम्बर ल्याई पास भएर योग्य भएको छु ।’
उनले बाँके र बर्दियाका विभिन्न निर्वाचन क्षेत्रमा हेर्ने हो भने दुई वर्षको अवधिमा सबैभन्दा बजेट ल्याउन सक्ने व्यक्ति आफू भएको दाबी गरे । ‘दुई वर्षको अवधिमा जनतासँग प्रत्यक्ष भेटेर सम्पर्कमा रहने व्यक्ति पनि मै हो । यो दुई वर्षको अवधिमा आफ्नो कुरा राख्ने संसदमा पनि म हो । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने विषयवस्तु उठान गर्ने व्यक्तिमा पनि म एक नम्बरमा पर्छु,’ उनले भने । ढकालले आफू मन्त्री जस्तो काम गर्न नसके पनि आफ्नो पद र प्रतिष्ठा अनुसार प्रभावकारी काम गर्न सफल भएको बताए ।
ढकालले अहिलेका नेताहरूका छोराछोरीहरू विदेशमा पढ्न वा बसेको प्रश्न उठाउँदै जनताले पुराना दलहरूले दुरुपयोग गरेको आरोप लगाउने बताए । उनले भने,–‘नेताका छोराछोरीहरू विदेशमा छन्, अहिले जनताले उठाएको प्रश्न पुराना दलहरूले दुरुपयोग गरे । हुने खाने आफन्तहरूलाई मात्रै समानुपातिक सत्तामा राखे ।’ उनले नेकपा एमालेले विभिन्न समुदायका पछि परेका व्यक्तिहरूलाई अगाडि बढाएको र शान्ता चौधरी, काशी चौधरी, कमल ओली जस्ता नेताहरूलाई राष्ट्र निर्माणको मूलधारमा ल्याएको बताए । तर नयाँ भनिनेहरू मिनबहादुर गुरुङ, जसले नेकपा एमालेको पार्टी कार्यालय बनाउँछु भनेको भरमा उनका अपार्टमेन्टहरू जलेर हजारौँ रोजगारी गुमेको उदाहरण प्रस्तुत गर्दै,–‘चुनावको बेला पनि म भाँडाको गाडी चढ्न सक्ने हैसियत राख्दिन, म स्कुटीमा हिँड्छु । आज नयाँ भनिनेहरू ८ करोडका गाडी चढ्छन् । त्यो स्रोत खुलाउनुपर्छ कि पर्दैन?” प्रश्न उठाए । उनले केही व्यक्तिहरूलाई नयाँका नाममा जनतालाई भ्रमित पार्ने र देशलाई बर्बाद गर्ने दिशातर्फ लागिरहेको आरोप लगाए ।
ढकालले मतदातालाई सन्देश दिंदै भने,–‘मतदान तपाईंको अधिकार हो, तपाईंहरू इमान्दार हुनुहुन्छ । जो मनपर्छ उसलाई मतदान गर्नुहोस् । चुनावी प्रतिस्पर्धामा मसँग १६ जना प्रतिस्पर्धी छन् । १६ जना मध्ये जो इमान्दार लाग्छ, जसलाई तपाईंले सजिलै काम गराउन सक्छ, जो सजिलै जनताको बीचमा पुग्छ, त्यसैलाई मतदान गर्नुहोस् ।’
उनले आफ्नो राजनीतिक अडान पनि स्पष्ट पारे । ‘अबको पाँच वर्षमा हेर्नुहुन्छ भने म नेकपा एमालेमै हुन्छु । जनताले रुचाएनन् भने पनि म एमालेमै हुन्छु । आफूलाई फेरि रूपान्तरित गरेर फेरि जनताको काममा लाग्नेछु । म अर्काले बनाइदिएको पार्टीमा भविष्य खोज्दिन, अवसरवादी पनि होइन । म आफैले मेरो पार्टी बनाउँछु र यो देश बनाउँछु । अर्काले बनाएको विरासतमा म उभिन चाहँदैन । आफ्नो विरासत आफैं बनाउन चाहन्छु ।’
ढकालले अहिले जनताहरू पुरानो पार्टी र पुरानो दलहरूले केही पनि गरेनन् भन्ने अवस्था रहेको बताए । उनले प्रश्न उठाए,‘एकपटक गाउँमा गएर हेरिदिनुहोस् । बाँके जिल्लामा घरबाट निस्किनुभयो भने पाँच मिनेटमा कालोपत्रे बाटोमा निस्किनुहुन्छ । विकासको हिसाबले १० वर्ष, लोकतन्त्रको हिसाबले ३५ वर्ष, ३५ वर्षको बीचमा दुई वर्ष संविधान बनाउन लाग्यो, १० वर्ष सशस्त्र युद्धको कारण काम गर्न पाइएन, दुई वर्ष कोभिडले काम गर्न पाइएन, दुई वर्ष भूकम्पले काम गर्न पाइएन, आठ वर्ष संविधानसभाबाट संविधान व्यतीत गर्ने कुरामा केन्द्रित रह्यो । यसो गर्दा हामीसँग टोटल १० वर्ष समय रहन्छ । १० वर्षको अवधिमा यही बाँकेमा हेर्ने हो भने सबै टोलहरूमा बिजुली तथा शुद्ध खानेपानी पुर्याएका छौँ । सबै वडा र पालिकाहरूमा विद्यालय पुगेको छ । सम्पूर्ण वडा तथा पालिकाहरूमा पूर्वाधार निर्माणका लागि कालोपत्रेतर्फ अगाडि बढिरहेका छौँ ।’
ढकालले नव युवाहरूलाई भने,–‘नेपालमा केही भएन भने आफ्नै घरका अन्य जेष्ठ सदस्यहरूलाई सोध्न आग्रह गर्न चाहन्छु । आफूले नागरिकहरूले राम्रो काम गरेको भन्ने विश्वास दिलाइरहेको व्यक्ति म हुँ ।’ ढकालले आफ्नो परिचय र अनुभवसम्बन्धी कुरा गर्दै भने, ‘म २०४५ सालदेखि राजनीतिमा छु । म स्कुल कमिटीको प्रारम्भिक कमिटीबाट काम गर्दै जिल्ला, प्रदेश, केन्द्रसम्म पुगेको हुँ । विद्यार्थी राजनीति तथा युवा राजनीति गरेको छु । मलाई लामो अनुभव छ । विभिन्न भ्रातृ संगठनका अध्यक्ष तथा इन्चार्जहरू बनेर काम गरेको छु । केन्द्रीय सदस्य भएर काम गरिरहेको छु । दुई कार्यकाल मदन भण्डारी फाउन्डेसनको जिल्ला अध्यक्ष पनि मैले धेरै पदमा बसेर धेरै काम गरेको छु । मलाई राजनीतिमा सुखको र दुःखको दुवै अनुभव छ । साथीहरूले सहयोग तथा असहयोग गरेका दुवै अनुभव छन् । आन्तरिक जीवनमा विजय तथा पराजय भएको अनुभव पनि छ । सबै अनुभवहरूलाई एकत्रित पार्दै म अगाडि बढिरहेको छु ।’
उनले भने कि २०४५ सालदेखि २०८२ सालसम्म आइपुग्दा उनले धेरै राजनीतिक उतारचढाव भोगेको छन् र फेरि अधुरा रहेका सपनाहरू पूरा गर्नको लागि चुनावी मैदानमा रहेको बताए । ढकालले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पनि स्पष्ट पारे । उनी भन्छन्,–‘जनताको असल प्रतिनिधिको रूपमा आफूलाई स्थापित गर्नको निम्ति राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका निम्ति शान्तिपूर्ण ढङ्गले समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्न, देशको शासन सत्ता नेपाली नागरिकले नै चलाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न, अब ९२ सालमा कसैले पनि सिंहदरबारलाई आगो नलगाओस्, अबको ९२ सालमा कसैले सर्वोच्च अदालत नजलाओस्, अबको १० वर्षपछि स्थानीय तह सिडियो कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय र स्थानीय तहका वडा कार्यालयहरू कसैले नजलाओस् भन्ने उद्देश्यका लागि मेरो उम्मेदवारी हो ।’

