बाँके ३ मा पुस्तागत नेतृत्वको दाबी गर्दै दीपक जि.एम. निर्वाचन मैदानमा

कोहलपुर, माघ ३,

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा युवा नेता दीपक जि.एम. निर्वाचन मैदानमा उत्रिएका छन् । स्थानीय मुद्दा, युवाको भूमिका र विकासका प्राथमिकताबारे सँग गरिएको कुराकानीको अंश प्रस्तुत छ :

प्रश्न १ : प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा उम्मेदवारी दिनुका मुख्य कारण के हुन् ?
यो निर्वाचन मेरो व्यक्तिगत महत्वाकांक्षाको परिणाम होइन, पुस्तागत जिम्मेवारी हो । बाँके–३ का युवाको सपना, किसानको पीडा, श्रमिकको पसिना र आम नागरिकको भरोसा बोकेको प्रतिनिधिको आवश्यकता महसुस गर्दै म उम्मेदवार बनेको हुँ। पुरानै शैलीले अब समस्या समाधान हुन नसक्ने स्पष्ट भएपछि म मैदानमा आएको हुँ । म बाँके जिल्लाको बैजनाथ क्षेत्रमै हुर्किएको व्यक्ति हुँ । यस क्षेत्रका समस्या, सम्भावना र आवश्यकतालाई मैले नजिकबाट बुझेको छु । विगतमा बाहिरी क्षेत्रका उम्मेदवारहरूले निर्वाचन जिते पनि अपेक्षित विकास हुन सकेन । बाँके–३ अन्तर्गत बैजनाथ, खजुरा, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडा पर्ने भएकाले यस क्षेत्रको समन्वित विकासका लागि मेरो उम्मेदवारी हो।

प्रश्न २ : युवा उम्मेदवारका रूपमा आफूलाई कसरी प्रस्तुत गर्नुभएको छ ?
युवापन उमेर मात्र होइन, सोच, साहस र दृष्टिकोण पनि हो। म निर्णयमा साहस, काममा गति र नीतिमा स्पष्टता लिएर आएको छु। आजको पुस्ता, विशेषगरी जेन्जी परिवर्तन खोजिरहेको छ । त्यो परिवर्तनको आवाज संसदसम्म पु¥याउनु मेरो दायित्व हो ।

प्रश्न ३ : तपाईंको चुनावी अभियानमा जेन्जीको भूमिका कस्तो छ ?
जेन्जी मेरो अभियानको मेरुदण्ड हो । घरदैलो अभियानदेखि सामाजिक सञ्जाल, नीति बहसदेखि संगठन निर्माणसम्म उनीहरू अग्रपंक्तिमा छन् । रोजगारी, शिक्षा, प्रविधि र अवसरका सवालमा जेन्जीको विश्वास जित्नु मेरो मुख्य प्राथमिकता हो ।

प्रश्न ४ ः चुनाव चिन्ह ‘तारा’ लाई तपाईं कसरी अथ्र्याउनु हुन्छ ?
‘तारा’ आशाको प्रतीक हो ।अँध्यारोमा बाटो देखाउने उज्यालो। बाँके–३ का जनताका समस्याको समाधानका लागि स्पष्ट दिशा र उज्यालो भविष्यको संकल्प नै तारा हो । देशलाई स्थायित्व र सुशासनतर्फ लैजान १९ वाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको ठूलो आशा छ। त्यसैले यसपटक सबैलाई तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।

प्रश्न ५ : विजयी भएमा पहिलो प्राथमिकता के हुनेछ ?
मेरो कार्ययोजनाका चार मुख्य स्तम्भ छन्
१) स्थानीय रोजगारी सृजना
२) युवा सीप विकास र उद्यमशीलता प्रवद्र्धन
३) स्वास्थ्य र शिक्षामा सहज पहुँच
४) भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
यी क्षेत्रमा ठोस र परिणाममुखी काम सुरु गर्नेछु ।

प्रश्न ६ : बाँके–३ का मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
यो चुनाव व्यक्ति विशेषको होइन, पुस्ताको भविष्यको चुनाव हो । अब मौन बस्ने होइन, परिवर्तन रोज्ने समय आएको छ । तारा चिन्हमा मत दिएर उज्यालो भविष्यको पक्षमा उभिन सम्पूर्ण मतदातालाई आग्रह गर्दछु ।

प्रश्न ७ : अन्त्यमा, तपाईंलाई किन जिताउनुपर्छ ?
म वाचा होइन, कामको राजनीति गर्छु। सुन्ने, सिक्ने र समाधान दिने प्रतिनिधि बन्न चाहन्छु । बाँके–३ को आवाज संसदमा बुलन्द बनाउने स्पष्ट प्रतिबद्धतासहित म निर्वाचन मैदानमा उत्रिएको छु ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !