स्थानीय राजनीतिदेखि सत्ताको अनुभवसम्म : मोहम्मद इश्तियाक राईको राजनीतिक यात्रा

कोहलपुर, माघ २०,

बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई नेपाली राजनीतिमा निरन्तर संघर्ष, अनुभव र उतार-चढावको नाम हुन् । उनको राजनीतिक यात्रा सडक आन्दोलनदेखि मन्त्री पदसम्म फैलिएको छ । प्रारम्भमा विभिन्न पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गरेका राईको धार २०६२–६३ को जनआन्दोलनले मोडिदियो । त्यसपछि उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरे र छोटो समयमै पार्टीको केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै केन्द्रीय सचिव बने । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तार भए, हिरासतमा रहे, तर आफ्नो राजनीतिक यात्रा रोकिएन ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमको तर्फबाट बाँके–२ बाट उम्मेदवार बनेका राई निर्वाचित भए । यही निर्वाचनले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्यो । दुई वर्षपछि, २०६८ सालमा उनी श्रम तथा यातायात व्यवस्था मन्त्री बने । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पुनः बाँके-२ बाट निर्वाचित भएका राई शहरी विकास मन्त्री बने । त्यस अवधिमा उनले नेपालगन्जको शहरी विकास, सडक विस्तार र पूर्वाधार सुधारमा सक्रिय भूमिका निभाएका छन् ।

ओली सरकारले संसद विघटन गरेपछि सर्वोच्च अदालतको आदेशबाट संसद पुनस्र्थापना भयो । त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी केही समय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने । सत्ता फरक–फरक भए पनि सरकारमा रहेर काम गर्ने अवसर उनले पटक–पटक पाएका छन् । मुस्लिम समुदायका राई आफू विकासमुखी राजनीतिमा विश्वास राख्छन् । नेपालगन्जमा धार्मिक–सांस्कृतिक विविधता र समाजिक सद्भाव फैलाउने अभियानमा पनि उनी सक्रिय छन् । उनले गरेको पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक योजनाहरूले स्थानीय जनताको विश्वास जितेको दाबी गर्छन् । उनका अनुसार सडक विकास भएसँगै गाउँ–बस्ती, बजार र जीवनस्तरमा सुधार आउँछ । यदि कर्मचारीलाई पर्याप्त तलब दिन सकियो भने भ्रष्टाचार आफैं निर्मूल हुन्छ ।”

राईको नेतृत्वमा बाँकेमा नौवटा पुल निर्माण भइसकेको छ । डुडुवामा आठवटा पूरै बनिसकेका छन् र सातवटा निर्माणाधीन छन् । राप्ती नदीको तटबन्धन गर्दै किसानहरूको समस्या समाधान गर्ने काम पनि भइरहेको छ । यसबाहेक, नेपालगन्जको क्रिकेट स्टेडियम निर्माण आफू विजयी भएको एक वर्षभित्र गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघर्ष, सत्ता र असफलताको अनुभव बोकेका राईको राजनीतिक यात्रा अझै निर्णायक मोडमा छ । उनी भन्छन्,–‘मैले विभिन्न कार्यकालमा सरकारमा रहँदै बाँकेको स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार र सडक विकासमा काम गरिसकेको छु । अब जनताले निर्णय गर्ने बेला आएको छ, देश कस्तो बनाउने, समाज कस्तो बनाउने भन्ने हाम्रो जिम्मेवारी हो ।’आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा राई बाँके क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार हुन् । उनले आफ्नो अनुभव र योजनाहरूको भरमा स्थानीय जनताको विश्वास जित्ने लक्ष्य राखेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !