अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, जातीय विभेद न्यूनीकरणमा जोड

कोहलपुर, चैत्र १७,

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा कोहलपुर नगरपालिकाले दलित अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित उक्त कार्यक्रम कोहलपुर–११ स्थित पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले समाजमा आएको परिवर्तनबारे चर्चा गर्दै विगतको तुलनामा अहिलेको समाज धेरै रूपान्तरण भइसकेको बताएका छन् । नगर प्रमुख आचार्यले विगतमा गहिरो रूपमा जरा गाडेको जातीय विभेद अहिले क्रमशः घट्दै गएको उल्लेख गर्दै अझै पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको बताएका हुन् । उनले भने,-‘समाजका गतिविधिलाई नजिकबाट नियाल्ने अवसर पाएँ, त्यो बेलाको समाज र आजको समाजबीच ठूलो अन्तर देखिन्छ ।’

उनका अनुसार जातीय विभेद दलित र गैरदलितबीच मात्र सीमित नभई विभिन्न जाति तथा समुदायबीच पनि देखिने गरेको थियो । पछिल्लो समय यसमा सुधार आएको महसुस भएको छ उल्लेख गरे । उनी भन्छन्,-‘अझै धेरै काम गर्न बाँकी छ ।’ उनले नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई पूर्ण रूपमा निषेध गरेको स्मरण गराउँदै यस्ता अमानवीय व्यवहार सह्य नहुने स्पष्ट पारे । नगर प्रमुख आचार्यले समानता, सामाजिक न्याय र समावेशीताका आधारमा समाज निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी चक्रबहादुर डमरपालले जातीय विभेदविरुद्धको कानुनी व्यवस्था र कारबाहीबारे जानकारी गराएका थिए । उनले जातीय विभेद वा छुवाछूत जस्ता घटनामा संलग्न जो–कोहीलाई तत्काल मुद्दा दर्ता गरी कानुनअनुसार कारबाही हुने बताए । ‘कसैले जातीय विभेद गरे तुरुन्तै मुद्दा लाग्छ, यसमा कुनै छुट छैन ।’ उनले भने ।

डमरपालका अनुसार नेपालको संविधानले सबै नागरिकलाई समानता, न्याय, रोजगारी, स्वास्थ्य र शिक्षाको अधिकार सुनिश्चित गरेको छ । उनले विभेदविरुद्धको ऐन तथा प्रावधानबारे जानकारी दिँदै यस्ता घटनामा पीडितले डर नमानी उजुरी दिनुपर्ने बताए । उनले भने,-‘प्रहरी सधैं पीडितको पक्षमा उभिन्छ । समाजमा शान्ति र सद्भाव कायम राख्न सबैको सहकार्य आवश्यक छ ।’ साथै, उनले समुदाय–प्रहरी साझेदारीमार्फत जनचेतना अभिवृद्धि गर्दै विभेदमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा समिति संयोजक ईश्वरी बिकेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दलित समुदायको उत्थान, सशक्तीकरण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा नगरपालिकाले गरेका प्रयासहरूबारे जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सीप विकासका कार्यक्रममार्फत दलित समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ विभिन्न योजनाहरू कार्यान्वयन भइरहेको बताए । कार्यक्रममा वक्ता शिव सुनारले जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनसँगै व्यवहारिक परिवर्तन अत्यावश्यक रहेको धारणा राखे ।उनले समाजमा गहिरो रूपमा बसेको विभेदको सोच परिवर्तन गर्न शिक्षा, जनचेतना र सकारात्मक सामाजिक अभ्यास आवश्यक रहेको बताए । सुनार भन्छन्,-‘हामी सबैले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउन सके मात्र वास्तविक समानता स्थापित हुन्छ । यस विषयमा समाजमा चेतनाको स्तर वृद्धि गरिनु पर्छ कार्यक्रमको आयोजना गर्दैमा जातिय विभेद उन्मुलन हुन सक्दैन ।’ उनले युवापुस्तालाई विभेदविरुद्ध आवाज उठाउन र समानताको पक्षमा सक्रिय हुन आग्रह गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि जातीय विभेद अन्त्यका लागि राज्य, स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले कानुनी व्यवस्था कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सामाजिक रुपान्तरणमार्फत मात्र विभेदमुक्त समाज निर्माण सम्भव हुने धारणा राखे ।

कोहलपुर नगरपालिकाको आर्थिक तथा सामाजिक विकास शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, अधिकारकर्मी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमले जातीय विभेदविरुद्ध सचेतना फैलाउने, पीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्ने तथा समानता र सहअस्तित्वमा आधारित समाज निर्माणतर्फ थप प्रेरणा दिने विश्वास गरिएको आयोजकले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !