कोहलपुर, मंसिर ७,
गरिमा विकास बैंक लिमिटेडको १८ औँ वार्षिकोत्सवको अवसरमा देशैभरी विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।

गरिमा विकास बैंकको केन्द्रिय बैंकदेखि शाखा बैंकहरुले विविध कार्यक्रमहरु गर्दै आफ्नो स्थापना दिवस मनाईरहेको छ । शुक्रबार कोहलपुर शाखाले पनि आफ्नो स्थापना दिवसको अवसरमा कोहलपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गरिमा विकास बैंक लिमिटेड कोहलपुरको आयोजनामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुर शाखा प्रबन्धक श्रवण न्यौपानेका अनुसार रक्तदान कार्यक्रममा ६५ प्वाइन्ट रगत संकलन भएको छ । दिवसको अवसरमा विभिन्न क्षेत्रका ६५ जनाले रक्तदान गरेको उनले बताएका छन् । शाखा प्रबन्धक न्यौपानेले ‘रगतदान, जीवनदान’ भन्दै सामाजिक सेवा अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । उनले भने,–‘रगतदान एक सामाजिक कार्य हो । मृत्युसँग जुधिरहेको मानिसलाई एक प्वाइन्ट रगत दिदाँ कसैको जीवन बच्छ भने यस्तो पुण्य काम किन नगर्ने त ? जति हामीले रगत संकलन गर्न सक्यौं रक्तदाताहरुलाई विशेष आभार व्यक्त गर्दछु ।’
नेपाल रेडक्रस सोसाईटी बाँकेको समन्वयमा रक्तदान सम्पन्न भएको हो । संस्थागत सामाजिक उत्तरदायित्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान लगायत विविध कार्यक्रम आयोजना गर्दै आइरहेको छ । स्थापना दिवसका अवसरमा विभिन्न शाखा मार्फत विभिन्न कार्यक्रम तय भएका छन् । प्रिन्टर हस्तान्तरण, कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि ५ थान डिभाइडर र १० थान कोन हस्तान्तरण, कान्ती बाल अस्पताल काठमाडौमा ४ थान वेटीङ्ग चियर हस्तान्तरण, म्याग्दी अस्पताल बेनी म्याग्दीमा ४ थान बेटीङ्ग चियर हस्तान्तरण, ज्ञानज्योति आधारभुत विद्यालय लल्याङ्गका ७० जना विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कुल ड्रेस) हस्तान्तरण लगायतका कार्यक्रम बैंले गरिरहेको छ ।
यस्तै जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ३ बटा फलामको र्याक सहयोग हस्तान्तरण गर्ने, श्री रामनदीधाम संस्कृत गुरुकुलम राम्दीमा ५ थान स्टील दराज हस्तान्तरण गर्ने, मेची आधारभुत विद्यालय भद्रपुर ३ ’झापा, डोलो गाउँ (मेची नदिको पारिको गाउँ) मा बिद्यार्थीहरुको लागि १२३ थान जुत्ता र मोजा वितरण गर्ने, श्री रम्भादेवी प्राथमिक विद्यालयका ७८ जना विद्यार्थीहरुलाई पोशाक (सर्ट, फक, पाइण्ट र जाडो समयको लागि सूइटर) वितरण गर्ने, श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे स्याङ्गजाका १०० जना विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कुल ड्रेस) हस्तान्तरण गर्ने कार्यक्रम बैंले राखेको छ ।

यता बैंकको केन्द्रिय कार्यालय अन्तरगत पनि विविध कार्यक्रम आयोजना गरिएका छन् । ७५ हजार पुरस्कारसहितको महिला पुरुष खुला गरिमा रोड रेस तथा साफ च्याम्पियन सिप फुटबलका खेलाडी महिलाहरुलाई सम्मान तथा नगदसहित पुरस्कार वितरण गरिने बैंकले जनाएको छ ।

