प्राकृतिक सुन्दरताले सजिएका तीन जिल्ला

बिधुत्मा रैका,
कोहलपुर, मंसिर ८,

नेपाल सुन्दर छ । विश्वको कुल जनसंख्याको थोरै मात्रै मानिसहरूले आफ्नो जीवनकालमा यस्तो सुन्दर पर्यावरणमा बस्ने, रम्ने र जीवन बिताउने अवसर पाउँछन् । त्यसै मध्येका हामी नेपालीहरू भाग्यमानी भित्र पर्छौं । त्यसमा पनि पश्चिम नेपालको कर्णाली प्रदेश भूस्वर्ग हो । यो प्रदेश तराईसँग जोडिएको छैन । हिमाल तथा पहाडको भूभागले यहाँको सुन्दरतालाई कायम राखेको छ । कर्णालीलाई सुम्सुम्याउनेहरूका लागि नयाँ र नौलो अनि सुन्दर छ । स्वर्गको एक टुक्रा हो कर्णाली । सुन्दर कर्णाली, समृद्ध कर्णाली । कर्णाली केबल नाममात्रै हैन । यो त एउटा सिंगो सभ्यता हो । यो एउटा इतिहास हो । कर्णाली, मानव सभ्यता र संस्कृतिसँग जोडिएको आधार पनि हो । कर्णाली भन्नासाथ हामी कर्नाली नदिलाई सम्झन्छौ, मनन गर्छौ, आनन्दित हुन्छौं । वास्तवमा यो नदिसँग जोडिएको सभ्यता पनि हो ।

कर्णाली भाषा, साहित्यको उद्गम थलो हो । यो पर्यटनको एउटा गतिलो आधारक्षेत्र पनि हो । नेपालका ७ प्रदेशमध्ये कर्णाली प्रदेश क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो ३०,२११ वर्ग किलोमिटरमा फैलिएको कर्णालीले आफ्नो छुट्टै परिचय बनाएको छ । इतिहासलाई हेर्ने हो भने कर्णाली एक शक्तिशाली र समृद्ध राज्यका रूपमा स्थापित थियो । कर्णाली खस राजधानी सिँजा, नेपाली भाषा, संस्कृति र साहित्यको उद्गम थलो पनि हो । यार्साको राजधानी भन्न मिल्ने यस प्रदेशको कृषि, पशुपालन, व्यापार, जडिबुटी संकलन, राडीपाखी बुनाई, भेडा, च्याङ्ग्रा, तथा चौरीपालन, वैदेशिक रोजगार यहाँको मुख्य पेशा हुन् । यहाँ प्रशस्तै मात्रामा जडिबुटी पाइने भएकाले कर्णालीलाई जडिबुटीको खानीको प्रदेश भन्ने गरिन्छ । यहाँका पुथा, चङ्खेली, चुलिमालिका, सिस्ने मुख्य हिमश्रृंखलाहरू हुन् । अझ पर्यटनका दृष्टिकोणले पनि यो प्रदेशले निकै सम्भावना बोकेको छ । मुगुको रारा ताल, डोल्पाको से–फोक्सुण्डो ताल, कालिकोटको पचाल झरना, हुम्लाको मानसरोवर जाने रूट र जुम्लाको गुठिचौर, तातोपानी, चन्दननाथ भैरबनाथ, शान्ति स्तुपा, दैलेखको महाबु धाम, श्रीस्थान, नाभिस्थान, देवलहरू, सुर्खेतको काक्रेविहार, देउती बज्यै मन्दिर, बुलबुले ताल, जाजरकोटको दरबार, रूकुमको मुसीको मन्दिर, डिग्रेसाइको मन्दिर तथा स्यार्पु ताल, सल्यानको कुमाखको लेक, कुपिण्डे दह लगायत थुपै्र क्षेत्र यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू हुन् ।

प्राकृतिक सुन्दरताले सजिएको यो प्रदेश पौराणिक, ऐतिहासिक, धार्मिक,सांस्कृतिक सम्पदामा निकै धनि छ । हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रूकुमपश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लालाई समेटेर यो प्रदेश निर्माण भएको यसको राजधानी सुर्खेतको वीरेन्द्रनगर हो । यो प्रदेशमा विविध हावापानीका साथै धरातलीय तथा जैविक विविधता रहेको छ । स्याउ, ओखरको पनि राजधानी नै हो कर्णाली । कागुनो, कोदो, फापर, आलु, चिनो, जौं यहाँका प्रमुख बाली हुन् । हिमाली जिल्लाहरू भएकाले यहाँ बाह्रै महिना सेता हिमालहरू देख्न सकिन्छ । जडिबुटी र खनिजको प्रशस्त मात्रामा सम्भावना रहेको छ । । कृषि, पशुपालन तथा जडिबुटी यहाँका आम्दानीका मुख्य स्रोत हुन् । भौगोलिक विकटता भएपनि कर्णालीमा रहेका सांस्कृतिक चिनारी तथा प्राकृतिक कुरा नै पर्यटन व्यवसायका मुख्य आधार हुन् । यहाँका सुन्दर हिमालले सबैलाई आकर्षित गर्दछ । साथै हिउँ परेपछि हिउँले यहाँको सुन्दरतामा मोति चम्किएझैं देख्न सकिन्छ । डाँडाकाँडा सेताम्मे देखिन्छन् । हिउँ पर्नासाथ यहाँ बसोबास गर्ने मासिनहरूमा खुसीले रमाउँछन् । यार्सा खोज्न जानेहरूको मनमा उमंग छाउँछ । यसपाली हिँउ प¥यो पक्कै पनि धेरै यार्सा उम्रिन्छ कि भन्ने आशमा हिउँ पग्लिएपछि मानिसहरू उकालो लाग्छन् । यसरी हिँउले ढाकेका यी हिमाल तथा पहाडहरू देखेपछि यहाँ आउने जो कोही पनि दंग पर्छन् । हरेक वर्ष विश्वका विभिन्न मुलुकहरूबाट धेरै पर्यटकहरू कर्णाली प्रदेशको सुन्दरतामा रमाउन आउने गर्छन् ।

डोल्पा
कर्णाली प्रदेशमा अवस्थित डोल्पा जिल्ला प्रकृतिको अनुपम वरदान हो । डोल्पाको सुन्दरता हेरेर आँखा अघाउँदैनन् । यो क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला पनि हो । डोल्पा जिल्ला ७ हजार ८ सय ८९ वर्ग किलोमिटरमा फैलिएको छ । यसलाई भूगोलको उपल्लो र तल्लो गरि दुई शृंखलामा समेटिएको छ । यहाँ अवस्थित से–फोक्सुण्डो ताल जिल्लाकै चिनारी पनि हो । यो नेपालकै गहिरो तालका नामले पनि चिनिन्छ । प्रकृतिको एउटा उत्कृष्ट सिर्जना हो डोल्पा जिल्ला । विशेष गरि बौद्धधर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा १२ वर्षम लाग्ने से–गुम्बाले यहाँको चिनारीलाई पनि जोगाएर राखेको छ । मेलाको अवसरमा देखाइने विविधखाले नाँचले सबैको ध्यान पनि तान्छ । त्रिपुरा सुन्दरी मन्दिर यहाँको प्रमुख धामका रूपमा चिनिएको छ । यहाँ आकर्षक र बडेमानका अग्गा हिमाल र पहाडका चुचुराहरू र नदिको फेदीमा अवस्थित फाँट तथा सुन्दर बस्तीहरू सहितको दृश्य देख्न पाइन्छ । डोल्पाको पुथा लगायतका अन्य हिमालहरूले यहाँ आउने पर्यटकहरूलाई यतै बसौं, बसौं बनाउँछ । यहाँ आउने जो कोहीलाई स्वागत गर्न यहाँका हिमाल सदैव अटल भएर बसेका छन् भने नदिहरू जीवनसँग लय मिसाउँदै, सुस्साउँदै दिनरात बग्दै गरेका छन् । यहाँको प्राकृतिक सुन्दरता, डाँडापाखाहरू देख्दा पर्यटकहरूलाई अंगाल्न हात फैलाइरहेका छन् जस्तै लाग्छ । यिनै कुराहरू हेर्न, पढ्न, बुझन, रमाइलो गर्न वर्षेनी सयौं पर्यटकहरू यहाँको माटो चुम्न आइपुग्छन् । यहाँका मनोरम प्राकृतिक सम्पदा, धार्मिक स्थलहरू, पुरातात्विक महत्वका क्षेत्रहरू र अर्गानिक कृषि उत्पादनहरू नै यहाँ आउने पर्यटकहरूलाई लोभ्याउने मुख्य स्रोतहरू हुन । यी सम्पदाहरूको विशेष रूपमा संरक्षण, व्यवस्थापन तथा प्रचारप्रसार गरी पर्यकहरूलाई यस जिल्ला सजिलै आउने वातावरणको सिर्जना गर्न सकिने र त्यसबाट मनग्य आम्दानी गर्न सकिने थुप्रै सम्भावनाहरू छन् । त्यसका लागि दीर्घकालिन सोचका साथ आवश्यक बजेट छुट्याएर पूर्वाधार विकास, तालिम, कृषि उत्पादन, जनचेतनामूलक जस्ता कुराहरूलाई व्यवस्थापन गर्न सकेमा डोल्पा जिल्ला पर्यटनको गतिलो गन्तव्य र आम्दानीको स्रोत बन्न सक्छ ।

दैलेख
कर्णाली प्रदेशमा अवस्थित दैलेख प्राकृतिक, पौराणिक, ऐतिहासिक तथा धार्मिक जिल्लाका रूपमा चिनिदैँ आएको छ । यस जिल्लामा अवस्थित मनोरम प्राकृतिक सम्पदा, ज्वाला, महावु धाम, दुल्लु, डुङ्गेश्वर, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका क्षेत्रहरू तथा यहाँका मुख्य पर्यटकीय गन्तव्यहरू हुन् । यहाँ रहेका झरना, खोलानाला, मठ–मन्दिर, गुम्बा, पुरातात्विक सम्पदाहरू, कृषि प्रणाली, मनोरम बस्तीहरु यस क्षेत्रका आर्कषणका क्षेत्रहरू हुन् । हिमालको खोंच छिचोल्दै आउने भेरी र कर्णाली नदिले दैलेखको मौलिकतालाई सुसेल्दै बग्दै गएको छ । यी नदिले दैलेखीका सुख, दुःख गीतमा संगीत भर्दै आएको छ । यी दुई वटा नदिको बिचमा रहेको यो जिल्ला भौगोलिक रूपमा विकट भएपनि धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले निकै धनि छ । शिलालेख, किर्तीखम्ब, देवल, भुर्ती, दुल्लु क्षेत्र, पौवा, पञ्चकोशी क्षेत्र, पेट्रोल खानी, बेलासपुर, बालेश्वर, धुलेश्वर मन्दिर, कोतगढी, पादुका, नौमुले, होमेस्टे, झरना, गुराँसे यहाँका महत्वपूर्ण स्थानहरू हुन् । दैलेखको दुल्लु क्षेत्रमा बा¥हौं, ते¥हौं शताब्दीका शिलालेखहरू, कलात्मक मुर्ति, देवल, मुग्राह धारा तथा खम्बहरू रहेका छन् । पौवा काजि सजपाउ थापाको गदिघरमा कलात्मक र काठमा कुँदिएका मुर्तिहरू पनि देख्न सकिन्छ । यहाँ विभिन्न किसिमका पुराना धार्मिक, सांस्कृतिक तथा पुरातात्विक वस्तुहरू संरक्षण गरेर राखिएको छ । यहाँका प्राकृतिक सम्पदा पनि धार्मिक कुराहरूसँग जोडिएका छन् । पश्चिमकै एउटा प्रसिद्ध धामले चिनिएको छ महाबु धाम । आफ्नो जीवनकालमा एकपटक पुग्नै पर्ने र दर्शन गर्नै पर्ने धामका रूपमा माहाबु धाम रहेको छ ।

भौगोलिक विटकतासँगै थुप्रै सम्भावनाहरू दैलेख जिल्लामा रहेका छन् । नौ वटा मुलको उद्गम थलोको रूपमा नौमुले क्षेत्र चिनिएको छ । यहाँ बसोबास गर्ने गुरूङ, मगर जातीका मानिसहरूले हामेस्टे, होटल लगायतका व्यवसाय संचालन गरेर आर्थिक उपार्जन गर्न सकिने सम्भावनाहरू रहेका छन् । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्गले छोएको यो जिल्लाले पहाड र हिमालको सम्बन्धलाई जोड्ने काम गरेको छ । कर्णाली नदीको छेउछाउका बस्ती तथा बजारहरूलाई व्यवस्थित तरिकाले पर्यटन व्यवसायसँग जोड्न सकिने अवस्था रहेको छ । दैलेख प्राकृतिक स्रोतले भरिपूर्ण, साँस्कृतिक सम्पदा र कलाकृतिको खानी भएको जिल्ला पनि हो । यहाँ विभिन्न रीतिरिवाज, चालचलन, परम्परा, भेषभूषा लगायतमा विविधता पाइन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट केही घण्टा उत्तरी भागको उकालो छिचोलेपछि दैलेखको सीमाना गुराँसे पुग्न सकिन्छ । यस जिल्लामा पर्यटन व्यवसायलाई व्यवस्थित तरिकाले संचालन गरेर यहाँका मानिसहरूले मनग्य आम्दानी गर्न सकिने अवस्था रहेको छ । त्यसका लागि कर्णाली प्रदेश सरकार बजेट विनियोजन, आवश्यक स्रोत व्यवस्थान तथा परिचालन एवं प्रचारप्रसारमा लाग्दै आएको छ ।

सुर्खेत
सुर्खेत कर्णाली प्रदेशको राजधानीको नामले चिनिएको जिल्ला हो । उत्तरी भेगका मानिसहरू व्यापार, व्यवसाय, शिक्षादिक्षाका उद्देश्य बोकेर आउने मुख्य गन्तव्य पनि हो सुर्खेत । तत्कालिन स्वर्गीय राजा वीरेन्द्रको अति मन पर्ने स्थानका रूपमा रहेको सुर्खेत पश्चिम क्षेत्रमा अवस्थित सानो र सुन्दर उपत्यका हो । यहाँ मध्यमखालको हावापानी रहको छ । यहाँ न त धेरै जाडो नै हुन्छ, न त धेरै गर्मी नै हुन्छ । त्यसैले पनि सबैको रोजाइमा सुर्खेत पर्दै आएको छ । सुर्खेतको बुलबुले तालका बारेमा नसुन्ने सायदै कमै होलान् । सुर्खेतको मुटुमै रहेको यस उद्यानले सबैलाई दुःख बिसाउने ठाउँ दिएको छ । वीरेन्द्रनगरको आडैमा रहेको देउती बज्यैको मन्दिर, खस राजाको पालामा बनेको काँक्रेविहार लगायतले सुनमा सुगन्ध थपेका छन् । त्यस्तै अँधेरी गुफा, चमेरे गुफा, भेरी नदीले फन्को मारेको जिल्ला, जाजुरा दह लगायतका स्थान नै यस जिल्लाका प्रमुख पर्यटनका गन्तव्यहरू हुन् । सुर्खेतलाई जलयात्राका लागि पनि आर्कषक गन्तव्यका रूपमा लिन सकिन्छ । भेरी नदीले फन्को मारेर पश्चिममा कर्णालीसँग मिसिने भएकाले पनि यहाँ नदि किनारमा बसोबास गर्दै आएका मनिसहरूलाई पर्यटन व्यवसायसँग जोड्न सकिन्छ । जाजरकोट, सुर्खेतकै पूर्वमा अवस्थित स्थानीयतह गुर्भाकोटदेखि नै भेरी नदीमा ¥याफ्टिङ गर्न सकिन्छ । वर्षायाममा बाहेक अरूबेला भेरी नदिमा पानीको बहाव एकैखालको हुने भएकाले यहाँ ¥याफ्टिङ गर्न सुरक्षित र उपयुक्त पनि मानिन्छ । थोरै मात्रामा खुलेका होम–स्टेले सबै पर्यटकहरूलाई सेवा दिन सकिरहेको छैन । अझै उल्लेख्य मात्रामा स्थानीय समुदायको धार्मिक, सांस्कृतिक कुराहरू झल्किने गरि यस्ताखाले होटल व्यवसाय, होम–स्टे खुल्नु जरूरी समेत रहेको छ । त्यसबाट स्थानीय परिकारको स्वाद समेत लिन सकिन्छ । जसले पर्यटकीय प्रवद्र्धनमा समेत योगदान गरिरहेको छ । सुर्खेतमा बराह तालले पर्यटक लोभ्याइ नै रहेको छ । यो जिल्ला धार्मिक पर्यटनका हिसाबले पनि चिनिन्छ । यसलाई पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको जिल्लाका रूपमा लिईन्छ । यहाँ रहेका अग्लो क्षेत्रबाट सुरक्षित प्याराग्लाइडिङ र नदिबाट जलयात्राको रोमाञ्चक अनुभूति गर्न सकिन्छ । कठिन भौगोलिक परिवेश भएको कर्णाली तथा भेरीको साहसिक यात्रा र अविस्मरणीय अनुभूतिको प्रशस्त अवसर पर्यटकलाई दिएको छ । त्यसैले पनि सुर्खेतलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । पछिल्लो समय कर्णाली प्रदेश सरकार पर्यटनका गन्तव्यहरूलाई संरक्षण, सम्बद्र्धन तथा खोजी गर्दै उचित स्रोत व्यवस्थापन गरेर पूर्वाधार विकासका कामहरू समेत अगाडि बढाएको छ ।

कर्णाली सांस्कृतिक तथा पर्यटकीय सम्पदामा चिनिएको प्रदेश हो । विभिन्न जातजाति, भाषा, भाषा, धर्म, संस्कृति, कला, साहित्य, रहनसहनकोे सङ्गमस्थल एवम् धार्मिक सद्भाव र अनुसन्धानको गन्तव्य पनि हो । कर्णालीको संस्कृति र सभ्यताको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास तथा साँस्कृतिक क्षेत्रको संरक्षण गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् । भैगोलिक विकटता र संस्कृतिको प्रचारप्रसार, शिक्षाको कमि, हौसला र आवश्यक बजेटका कारण सगम्र कर्णाली संस्कृतिलाई सोचे जस्तो रूपमा संरक्षण, संम्वद्र्धन गर्न सकिएको छैन । तथापि यहाँका थुप्रै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूलाई जोगाएर पर्यटन व्यवसायलाई अगाडि बढाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कर्णाली प्रदेश सरकार निरन्तर आफ्नो काममा लाग्दै आएको छ ।

कर्णालीप्रदेश भौगोलिक रूपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्तिक महत्वका हिसाबले पनि विशिष्ट छ कर्णाली । यो प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय पनि हो । हुम्लाको सिमकोट, डोल्पाको शे–फोक्सुन्डोताल, जुम्लाको सिँजा उपत्यका, मुगुको रारा ताल, कालिकोटको पचालझरना, रूकुमपश्चिमको स्यार्पु ताल, जाजरकोटको दरबार, सल्यानको कुमाख लेक, दैलेखको महाबुधाम, सुर्खेतको काँक्रेविहार प्रमुख पर्यटकीय गन्तव्य हुन् । चन्दनननाथ, त्रिपुरा सुन्दरी, पञ्चकोशी, शे–गुम्बा, देउतीबज्यै, मुसीकोट यस प्रदेशका प्रमुख धार्मिकहरू क्षेत्र हुन् । यी त कर्णालीका केहीउदाहरणहरू मात्रै हुन् । यस्ता थुप्रै प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूको पहिचान, विकास र विस्तार गर्न सकियो भने भविष्यमा समग्र कर्णाली प्रदेश पर्यटनको एउटा राम्रो गन्तव्य बन्न सक्छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !