१८औं गणतन्त्र दिवस बैजनाथमा उत्साहपूर्वक मनाइयो

कोहलपुर, जेठ १५,

१८औं गणतन्त्र दिवसको अवसरमा बैजनाथ गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी दिवसलाई उत्साहपूर्वक मनाएको छ।

गाउँपालिकाको आयोजनामा बिहान जि गाउँ चोकबाट पञ्चैबाजा सहित सुरु भएको प्रभातफेरी रंगिला चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया, निवर्तमान अध्यक्ष मान बहादुर रुचाल, नेपाली कांग्रेस बैजनाथ सभापति देब बहादुर केसी, नेकपा एमाले बैजनाथ अध्यक्ष मन बहादुर खत्री, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुन्दरनाथ योगी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष शाहीले गणतन्त्र स्थापनाका लागि ज्यान आहुती दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान दिने सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, बुद्धिजीवी, शिक्षक, पत्रकार तथा जनसाधारणप्रति धन्यवाद ज्ञापन गरे । उनले गणतन्त्रको १८औं वार्षिकोत्सवसम्म आइपुग्न योगदान दिने सम्पूर्ण पक्षप्रति कृतज्ञता प्रकट गर्दै आगामी वर्षहरूमा गणतन्त्र दिवसलाई अझ उत्साहपूर्वक मनाउने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार कार्यक्रम शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको हो। गाउँपालिकाले गणतन्त्र दिवसलाई मात्र एक समारोहको रूपमा नभई गणतन्त्रप्रति जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !