कोहलपुर, चैत्र १६,
कोहलपुर नगर अस्पतालमा हाल निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ।
नगरबासीहरूलाई आफ्नो आँखा स्वास्थ्य परीक्षण गराउने र आवश्यक उपचार प्राप्त गर्ने सुनौलो अवसरका रूपमा यो सेवा सञ्चालन गरिएको हो। तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ आँखा रोग विशेषज्ञहरूको टोलीद्वारा निःशुल्क आँखाको स्क्रिनिङ तथा आवश्यक परे शल्यक्रिया अपरेशन सेवा प्रदान गरिँदैछ। विशेषज्ञ टोलीको प्रत्यक्ष संलग्नतामा सेवा दिइँदा स्थानीय बासिन्दाले गुणस्तरीय उपचार पाउने अपेक्षा गरिएको छ।
उक्त सेवा चैत्र १८ गते दिउँसो ३ बजेसम्म उपलब्ध रहने अस्पतालले जनाएको छ। सेवा कोहलपुर नगर अस्पताल परिसरमै सञ्चालन भइरहेको छ। यसैबीच, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले समयमै आँखा जाँच गराई सम्भावित समस्या पहिचान गर्न र निःशुल्क सेवा लिन सबै नगरबासीलाई उपस्थित हुन आग्रह गरेका छन् ।

