कोहलपुर, साउन १४,
‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउँछौं’ भन्ने मूल नारासहित कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल, बाँकेद्वारा प्रकाशित ‘कोहलपुर युवा दर्पण’ पुस्तकको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरको अध्यक्षता रहेको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदीले युवालाई सशक्त बनाउन यस्ता दस्तावेज र प्लेटफर्महरू आवश्यक रहेको बताईन् । ‘समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सक्रियता अपरिहार्य छ । कोहलपुर युवा दर्पण’ जस्तो प्रकाशनले युवाको क्षमता उजागर गर्ने काम गर्छ ।’ उपप्रमुख सुवेदीले भनिन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले युवाहरूमा अपार सम्भावना भएको बताए । कार्यक्रममा विशेष अतिथि अन्जना पाण्डेले युवालाई परिवर्तनको मूल शक्ति भन्दै सशक्त, सक्षम र सकारात्मक सोच भएका युवाहरू नै समाजको अगुवा हुने उल्लेख गरिन् ।
उनले कार्यक्रममा बोल्दै वर्तमान समाजमा देखिएका विविध सामाजिक, आर्थिक चुनौतीहरू समाधान गर्न युवाहरूको अग्रसरता आवश्यक रहेको र युवाको सक्रियता बिना दिगो विकास सम्भव नहुने धारणा व्यक्त गरिन् । साथै, उनले ‘कोहलपुर युवा दर्पण’ पुस्तकमा समेटिएका उदाहरणीय युवाहरूको गतिविधि, योगदान र सिर्जनात्मकता अरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न स्थानीय युवा प्रतिनिधिहरू, क्लब सदस्यहरू, नगर प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । उक्त पुस्तक विमोचन कार्यक्रम कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।



