कोहलपुर नगरपालिकाबाट आर्थिक रूपमा कमजोर नगरवासीलाई आवास ऋण सहायता

 

कोहलपुर, साउन १४,

कोहलपुर नगरपालिकाले आर्थिक रूपमा कमजोर तथा विपन्न नगरवासीहरूलाई लक्षित गरी आवास निर्माण वा जीर्ण घर मर्मतका लागि अधिकतम एक लाख रुपैयाँसम्मको आवास ऋण सहायता उपलब्ध गराउने भएको छ ।

कोहलपुर नगरपालिका, लुमन्ती संस्था र एनएमबी बैंकको सहकार्यमा सञ्चालनमा ल्याइएको ‘आवास निर्माण कार्यक्रम’ अन्तर्गत आवासविहीन, जीर्ण घरमा बसोबास गरिरहेका, वा आर्थिक अभावका कारण घर मर्मत गर्न नसक्ने नगरवासीहरूलाई सहयोग प्रदान गरिनेछ । नगरपालिकाका अनुसार वडा नं. १ देखि १५ सम्मका सबै वडाध्यक्षहरूलाई कार्यक्रमबारे औपचारिक सूचना पठाइसकिएको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा पठाइएको सूचनामा भनिएको छ कि ब्याजदर ७ वर्षसम्म स्थिर रहने भएकाले ऋण लिने व्यक्तिमा अतिरिक्त आर्थिक भार नपर्नेछ ।

नगर प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख छ,
यो कार्यक्रमले साना आम्दानी भएका नागरिकहरूलाई स्वाभिमानपूर्वक जीवनयापन गर्न सहयोग गर्नेछ । यस कार्यक्रमले सामाजिक समावेशीता, समानता, शिक्षा, स्वास्थ्य र सुरक्षामा समस्या भोगिरहेका परिवारहरूलाई दीर्घकालीन राहत दिने अपेक्षा गरिएको छ । निवेदन दिने अन्तिम म्याद साउन महिनाको मसान्तसम्म तोकिएको छ, र नगरवासीहरूलाई समयमा आवेदन दिन अनुरोध गरिएको छ ।

तस्बिर बिकल भट्टराई

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर