कोहलपुर,
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर १० बिगाह नामले मात्र होइन, वास्तवमै मान्छेको प्राण दिने ठूलो आशा बोकेको संस्था हो। आशाको केन्द्रबिन्दु, भरोसाको केन्द्रबिन्दु, प्राण राख्ने र प्राणको आशा राख्ने ठाउँ हो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर।
यस अस्पतालले विगत २५ वर्षभन्दा लामो समयदेखि सेवा दिइरहेको छ। यहाँ हजारौं बिरामीको ज्यान बचाइएको छ। यस कारण, सबैको प्राण बचाउने आशा, प्राण बाँच्ने आशाको आधार बनेको छ। तर पछिल्लो समय अस्पतालको सन्देश बाहिरतिर नराम्रो जान थालेको छ, र यसमा मुख्य भूमिका केही कर्मचारीहरूले खेलेका छन्। सबै कर्मचारी होइन, तर केही कर्मचारीहरू जो बिरामीसँग रिसाउँछन्, झर्किन्छन् र चर्किन्छन्, उनीहरूले अस्पतालको साखमा प्रत्यक्ष असर पारेका छन्।
आज मात्र मोटरसाइकल दुर्घटनामा परेका बिरामीलाई लिएर अस्पताल पुगेका आफन्तहरू झनै आहत बने। दुर्घटना भएकै कारण मान्छेको शरीरमा धेरै चोट लागेको हुन्छ। चोट लागिरहँदा बिरामी छटपटाउँछन्, पीडा भोगिरहेका हुन्छन्, र सबैको ध्यान उनीहरूको तत्काल स्वास्थ्य उपचारमा केन्द्रित हुन्छ। तर त्यस्तो पीडाको समयमा, यहाँका केही कर्मचारीहरूले त्यस पीडामाथि थप पीडा थप्ने गरी रिसाउँछन्, झर्किन्छन् र चर्किन्छन्, जसले बिरामी र आफन्त दुवैलाई थप आघात पुर्याउँछ।
यो घटना एकपटकको होइन। यहाँ पटकपटक यस्तै व्यवहार दोहोरिँदै आएको छ। बिरामी र आफन्तले बारम्बार अनुभव गरेका छन् कि केही कर्मचारीहरूको रीस, झर्किने वा चर्किने व्यवहारले अस्पतालको छवि धुमिल बनाइरहेको छ।
साक्षीहरूको भनाइअनुसार, ती रिसाउनेमध्ये एक जना इन्जेक्सन दिने नर्स थिइन् भने अर्का त चिकित्सक (डाक्टर) नै रहेछन्। सेवाभावका लागि ख्यातिप्राप्त हुनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीबाट यस्तो व्यवहार देखिनु अस्पतालकै लागि कलंक बनेको छ।
यद्यपि, यसैबीच एउटा कुरा प्रष्ट छ, धेरै डाक्टर नराम्रा छैनन्। धेरै डाक्टर साँच्चिकै राम्रा छन् । अस्पतालमा कार्यरत अधिकांश कर्मचारीहरूले राम्रो सहयोग गर्नुभयो। मोटरसाइकल दुर्घटनामा परेका दुई बिरामीलाई एकदम राम्रो उपचार गर्ने डाक्टर पनि त्यहाँ हुनुहुन्थ्यो । यहाँ म नाम लिन सक्छु, जसले बिरामीहरूलाई राम्रो व्यवस्थापन गर्न सक्नुभएको छ। बिरामीको आफन्तलाई राम्रो सुझाव दिन सक्नुभएको छ । दुईजना डाक्टर त भगवान सरी नै आउनुभयो। र अर्का नामहरू पनि लिन सक्छु। जसले बिरामको उपचार गर्न आएका बिरामीसँग दादागिरी गर्दै पौठे जोरी जोरी खोज्न आएका थिए । बिरामीहरू अस्पतालमा लड्न आउँदैनन् । लडेको जिन्दगीलाई उठाउन आउने हुन् । अनि आफन्तहरू पनि लड्न कराउन जोरी खोज्न आउने होइनन्। उनीहरू आफ्नो आफन्तको घाइते भएर लडिरहेको व्यक्तिको प्राणको भिक माग्न आउँछन् ।
त्यसका अतिरिक्त, त्यहाँको सुरक्षा गार्डले पनि निकै राम्रो काम गरे। उनले सुरक्षासँगै आफन्तलाई सुझाव, सल्लाह र सहयोग गरेका थिए। यसले देखाउँछ कि अस्पतालमा सबै कर्मचारी खराब छैनन्, धेरै राम्रा कर्मचारी पनि छन्।
तर समस्या के भने, अस्पतालको व्यवस्थापन टिम राम्रो भए पनि, दैनिक रूपमा बिरामीसँग प्रत्यक्ष सम्पर्क गर्ने कर्मचारीहरूको व्यवहारमा सुधार आवश्यक छ। उनीहरूको अशिष्ट व्यवहारका कारण अस्पतालको छवि धुमिल बन्दै गएको छ।
अस्पताल भनेकै जनताको विश्वास र जीवनको आधार हो। तर जब त्यहाँका कर्मचारीहरू रोगको उपचारभन्दा बढी रीस, करकट र अपमान बाँड्छन् भने यस्तो संस्थाले “प्राण दिने ठाउँ” होइन, “पीडा थप्ने ठाउँ”को नाम कमाउँछ।
सम्बन्धित अस्पताल प्रशासनले यस्ता घटना तत्काल अनुसन्धान गरी जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने माग सर्वत्र उठेको छ। बिरामी र आफन्तसँग गरिने अमानवीय व्यवहार अब सह्य छैन
अस्पतालको उद्देश्य, यसको सेवा, यहाँका फाइदा र जनमानसमा पुर्याएको स्वास्थ्य सेवा समेटेर सधैं यहाँको चर्चा गरिरहदा यहाँका एक दुई जना कर्मचारीहरूको व्यवहारले धेरै जनमानसमा प्रश्न चिन्ह खडा गर्छ । किनकि तीनवटा प्रदेशका बिरामी भएको मान्छे लाई उपचार गर्न कहाँ लैजाने भन्दा त्यसको गन्तव्य बन्छ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर । तर यस्ता अनुभवले नै नराम्रो महसुस गराइदिन्छ। सधैं नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई बाँकेको कोहलपुर चिनाउने मुटुका रूपमा यहाँका नागरिकहरूले लिएका छन्। तर उपचारका लागि जाँदाखेरि यहाँका कर्मचारीहरूको व्यवहारले मनै चुडिन्छ। यहाँका धेरै कर्मचारीहरूको व्यवहार राम्रो छैन। यो व्यवहार सुधार गर्नु जरुरी छ। अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति भन्दा पनि, कर्मचारीहरूको लापरवाही लास्टै देखिएको छ।
पछिल्लो समयमा स्पष्ट देखिएको कुरा यो छ, यहाँ सबै चिकित्सक विशेषज्ञहरूको बोली नराम्रो छैन। अस्पताल व्यवस्थापन समितिको पनि नराम्रो छैन। सञ्चालक पनि राम्रो छ। तर जो सबभन्दा बिरामीसँग नजिक भएर काम गर्ने कर्मचारीहरू छन्, उनीहरूको नै सबभन्दा ठूलो लापरवाही देखिएको छ।
केही कर्मचारीको त्यस्तो व्यवहारले अस्पताल नै ध्वस्त बनाइदिन सक्छ। यस क्षेत्र मात्र होइन, समग्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि यसको असर पर्न सक्छ। यहाँका बिरामीहरू अन्यत्र जाने बाध्यता महसुस गर्न सक्छन्। यसै कारण, कर्मचारीहरूको लापरवाही र असंवेदनशील व्यवहारले यस अस्पताललाई बदनाम बनाइरहेको छ, र यसको विश्वासमा रहेको जनमानसलाई पनि ठूलो चोट पुगेको छ।
यद्यपि, यसले अस्पताललाई पूर्ण रूपमा नराम्रो बनाउँदै लैजान सक्छ । विगत २५ वर्षभन्दा लामो समयदेखि सेवा दिइरहेको यो अस्पतालले हजारौंको जीवन बचाएको छ। यसकारण, सबैको प्राण बचाउने आशा र विश्वास अझै यस अस्पतालसँग जोडिएको छ। तर केही कर्मचारीहरूको रिस, झर्किने र चर्किने व्यवहारले बाहिर नराम्रो सन्देश दिइरहेको छ। सबै कर्मचारी होइन, तर यस्ता केही कर्मचारीहरूले अस्पतालको छवि नकारात्मक बनाइरहेका छन्।
यस व्यवहारका कारण धेरै बिरामीहरू घटेका छन्। कोहलपुरलाई चिनाउने यो अस्पताल नै हो, र यो अस्पतालकै कारण कोहलपुर बनेको हो। तर यहाँका कर्मचारीहरूको व्यवहारले अस्पतालको महिमा घटाउँदै गएको छ ।



