लालपुर रंगशालामा दोस्रो बैजनाथ बृहत् तिज महोत्सव लगाईने

कोहलपुर, भदौ १०,

हरितालिका तिजको अवसरमा दोस्रो बैजनाथ बृहत् तिज महोत्सव २०८२ आगामी भदौ १० गते बैजनाथ ६ स्थित बैजनाथ गाउँपालिका स्तरीय रंगशाला लालपुर खेलमैदानमा आयोजना हुने भएको छ ।

बैजनाथ राष्ट्रिय दैनिकको आयोजनामा तथा न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको समन्वय र सहजीकरणमा महोत्सव संचालन हुने सामुदायिक वनका अध्यक्ष रामकुमार रानाले जानकारी दिए । स्थानीय व्यवसायी, युवा संघ-संस्था र सामाजिक संघ-संस्थाको सहयोगमा हुन लागेको यस महोत्सवलाई बैजनाथ गाउँपालिका स्तरीय रंगशालामा आयोजना गरिनेछ ।

महोत्सवमा स्थानीय महिलाहरुलाई नाचगान तथा मनोरञ्जनका विविध प्रस्तुतिहरूमा सहज सहभागिता दिलाइनेछ । विशेषगरी बैजनाथकै गर्वको सम्पदा मानसरोवर बोटानिकल गार्डनको प्रचार-प्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक तथा बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक कुशल दलामीले बताए ।

तिज पर्वलाई महिलाहरूले पतिको दीर्घायु र परिवारको सुख–शान्तिका लागि व्रत बसेर श्रद्धा–भक्तिपूर्वक मनाउने गर्छन् । दर खाने, नाचगान गर्ने र सामूहिक भेटघाटमार्फत महिला एकताको सन्देश प्रवाह गर्ने यो पर्वलाई महोत्सवले अझ सांस्कृतिक एवं सामाजिक उत्सवका रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ । कार्यक्रम सफल बनाउन स्थानीय व्यापारी, युवा क्लब, संघ–संस्था एवं स्थानीयहरूले विभिन्न सामग्री निशुल्क उपलब्ध गराएका छन्

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !